Latest News

यस्तो आयो खोटाङ भुइँचालोको पछिल्लो अपडेट

Nepalese Times July 31, 2022 (2 Year ago)    301 Views

काठमाडौं ।

खोटाङको साकेला गाउँपालिका, मात्तिमविर्ता केन्द्र भएर आइतबार बिहान गएको ६ म्याग्निच्युडको भुइँचालो जिल्लामा एक घर भत्किएको छ भने ४७ घरमा क्षति पुगेको छ।

मात्तिमविर्ताका दलबहादुर राई, प्रधान राई र ज्ञानबहादुर खड्काको घरमा बढी क्षति पुगेको र अन्य वडामा भएको क्षतिको विवरण संकलन भइरहेको गाउँपालिका प्रमुख रविप्रकाश राईले बताए।

उनका अनुसार अहिले पानी परिरहेकाले अन्य वडाको विवरण संकलन हुन सकेको छैन। सोही भूकम्पले हलेसी तुवाचुङ नगरपालिका–५ दुर्छिमस्थित चुमाखुका तेजबहादुर नेपालीको घर पूर्ण रूपमा भत्किएको छ।

सो नगरपालिका–७ महादेवस्थानस्थित गंगा राईको घर बस्नै नमिल्नेगरी चर्किएको तथा वडा नं ९ सल्लेका ध्रुव पौडेलको पुरानो घरमा सामान्य क्षति भएको वडा नं ७ महादेविस्थानका वडाध्यक्ष एवम् नगरपालिकाका प्रवक्ता कमल गिरीले जानकारी दिए।

हलेसी तुवाचुङ नगरपालिकाले भूकम्पको क्षति मूल्यांकनका लागि राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणलाई पत्राचार गरेको छ। भूकम्प गएलगत्तै नगरपालिकाले मूल्यांकनका लागि राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण, गृह मन्त्रालयलाई पत्राचार गरेको नगरप्रमुख विमला राईले जानकारी दिइन्।

भूकम्पले जिल्लामा अहिलेसम्म मानवीय क्षति नभए पनि परकम्प जानेक्रम जारी रहेकाले सतर्कता अपनाउन जिल्लावासीलाई आग्रह गरिएको प्रमुख जिल्ला अधिकारी सूर्यप्रसाद सेढाईंले बताए।

‘जिल्लामा अहिले पनि भूकम्पको परकम्प जानेक्रम जारी छ,’ उनले भने, ‘कतैबाट सूचना प्राप्त हुनासाथ परिचालित हुनेगरी नेपाली सेना, प्रहरी र विपद व्यवस्थापनको टोली तयारी अवस्थामा राखिएको छ।’

विसं २०७२ वैशाख १२ गते गएको भूकम्प पछाडिको यो नेपालमा हालसम्मकै शक्तिशाली भूकम्प भएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ।

जिल्लाको प्रमुख व्यापारिक केन्द्र दिक्तेल बजारसँग सिमाना जोडिएको साकेला गाउँपालिका–५ मात्तिमविर्तामा भूकम्पको केन्द्र भएपछि जिल्लावासी त्रसित बनेका छन्।

दस स्थानीय तह रहेको जिल्लामा हालसम्म भूकम्पको दर्जनभन्दा बढी परकम्प गएको महसुस गरिएको छ। पटक–पटक परकम्प जानेक्रम जारी रहेपछि जिल्लाका केही स्थानीय बासिन्दा आफ्नो घर नजिकै पर्ने सुरक्षित ठाउँमा सर्न थालेका छन्।

प्रतिक्रिया दिनुहोस