Latest News

बाबुराम भट्टराईको नयाँ पार्टी निर्वाचन आयोगमा दर्ता, चुनाव चिन्ह के ?

Nepalese Times July 28, 2022 (2 Year ago)    421 Views

काठमाडौं । पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईले गठन गरेको नेपाल समाजवादी पार्टी निर्वाचन आयोगमा दर्ता भएको छ।

समावेशी लोकतान्त्रिक पार्टीको नाम परिवर्तन गरी नेपाल समाजवादी पार्टी बनाइएको निर्वाचन आयोगले जनाएको छ ।

समावेशी लोकतान्त्रिक पार्टी बाबुरामनिकट पूर्वविद्यार्थी नेता दीपक लामिछानेको नाममा दर्ता थियो।

समावेशी लोकतान्त्रिक पार्टीको विधान पुनर्लेखन गरी अद्यावधिक गरिएको र पार्टी झन्डा र छाप पनि फेरिएको बताइएको छ ।

चुनाव चिन्ह भने खुलेको एक आँखालाई नै निरन्तरता दिइएको छ। यो चुनाव चिन्ह पहिले नयाँ शक्तिको थियो।

खुलेको एक आँखा चुनाव चिन्ह राखेर लामिछानेले समावेशी लोकतान्त्रिक पार्टी आयोगमा केही समय पहिले दर्ता गरेका थिए।

जसपा संघीय परिषदबाट हटेपछि बाबुराम नयाँ पार्टी गठनमा जुटेका हुन्। निर्वाचन आयोगमा नेपाल समाजवादी पार्टी दर्ता भए पनि यसमा अध्यक्षलगायत केन्द्रीय सदस्य भने अद्यावधिक भइसकेका छैनन्।

बाबुरामनिकट नेता विश्वदीप पाण्डेका अनुसार नेपाल समाजवादी पार्टी आयोगमा आज दर्ता भइसकेको छ।

प्रतिक्रिया दिनुहोस