Latest News

शहरी विकासमन्त्री मेटमणिले ल्याए गज्जबको योजना, नागरिकले उल्टै पाउने भए पैसा

Nepalese Times July 27, 2022 (2 Year ago)    428 Views

काठमाडौं ।

शहरी विकासमन्त्री मेटमणि चौधरीले फोहोर दिएबापत नागरिकलाई पैसा दिने गरेर फोहोर व्यवस्थापनको योजना बनाइरहेको बताएका छन् ।

बुधबार मन्त्री बनेको महिना दिनको कार्यप्रगति र आगामी योजना प्रस्तुत गर्दै मन्त्री चौधरीले फोहोर दिने नागरिकलाई पैसा दिने गरेर मन्त्रालयले काठमाडौंमा नै फोहोर व्यवस्थापनको योजना अघि बढाइरहेको बताएका हुन् ।

उनले अहिलेसम्म नागरिकबाट फोहोरको पैसा लिने गरेको तर अब मन्त्रालयले बनाउने नयाँ प्रोजेक्टमा नागरिकलाई पैसा दिने गरेर फोहोर व्यवस्थापन गर्ने रणनीति लिएको बताए ।

ल्याण्डफिल साइटमा फोहोर लैजाने प्रोजेक्ट नै रोक्ने योजना ल्याउन छलफल भइरहेको उल्लेख गर्दै उनले फोहोरबाट काठमाडौंभित्रै मल, बिजुली, ग्यास लगायतका वस्तु उत्पादन गर्ने बताए । उनले देशभर बञ्चरेडाँडा र सिसडोल खोज्ने काम बन्द गरेर फोहोरलाई मोहरमा बदल्ने रणनीति र योजना बनाउनुपर्ने बताए ।

मन्त्री चौधरीले आफ्नो कार्यकाल छोटो भए पनि अवधिभित्रै ग्यास, मल उत्पादन गर्ने व्यवस्थामा लैजाने बताए । उनले सिसडोलबासीले शिर उच्च बनाएर हिँड्ने वातावरण सिर्जना गर्ने प्रतिवद्धता जनाए ।

उनले सिसडोलवासीले आजै मात्र आफूलाई भदौसम्म फोहोर व्यवस्थापनको उचित काम नभए फोहोरको गाडी ल्याण्डफिल साइटमा जान नदिने चेतावनी दिएको बताए ।

यस्तै कार्यक्रममा वञ्चरेडाँडा ल्याण्डफिल आयोजनाका आयोजना निर्देशक रविन्द्र बोहराले वञ्चरेडाँडामा बिहीबारदेखि एकतर्फी सडक सञ्चालन हुने र काठमाडौंको फोहोर ल्याण्डफिल साइडमा लैजान सुरु हुने बताए।

बोहराले काठमाडौंको फोहोरको दीर्घकालीन व्यवस्थापनका लागि धरानमा जस्तै गरी कुहिने फोहोरबाट ग्यास र मल तथा नकुहिने फोहोरबाट बिजुली निकाल्ने गरी योजना बनाइएको जानकारी दिए।

प्रतिक्रिया दिनुहोस