काठमाडौं –
भूमि, व्यवस्था तथा सहकारी मन्त्री सशी श्रेष्ठ फेरि विवादमा तानिएकी छिन् । उनले प्रक्रिया मिचेर आफ्नै नन्दलाई सरकारी नियुक्ति दिलाएकी छिन् ।
मन्त्रालयअन्तर्गतको साझा स्वास्थ सेवा सहकारीको सञ्चालक समिति सदस्यमा मन्त्री श्रेष्ठले नन्द उर्मिला पोखरेललाई मन्त्री स्तरीय निर्णय गरेर नियुक्ति दिलाएकी हुन् । उनले गत असार १९ मा मन्त्री स्तरीय निर्णयबाट नन्दलाई नियुक्ती दिलाएकी थिइन ।
सरकारी सेवाबाट दुई वर्ष अघि मात्र अवकास पाएकी उर्मिलालाई मन्त्री श्रेष्ठले सहोदर दाइ श्याम श्रेष्ठ सल्लाहकार रहेको विकल्प सहकारी संस्थाबाट अनुभवपत्र बनाउन लगाएर नियुक्त गराएकी हुन् । बताइएअनुसार विकल्प सहकारी संस्थाबाट दिइएको अनुभव पत्र पनि नक्कली हो ।
यसअघि पनि किर्तेलाई नियुक्ती
श्रेष्ठ मन्त्रीको जिम्मेवारीमा आएसँगै यो दोस्रो पटक विवादमा तानिएको घटना हो । यसअघि पनि नक्कली प्रमाणपत्र भएका भनिएका माधवप्रसाद तिमिल्सिनालाई सहकारी बोर्डको सदस्यमा नियुक्ति गरेकी थिइन ।
मन्त्री श्रेष्ठले तिमिल्सिनालाई नियुक्ती गरेपछि प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले छानबिन गरी मुद्दा चलाएको छ ।