काठमाडौं ।
निर्वाचन आयोगका प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले आगामी मंसिर ४ गते संघीय संसदको चुनाव हुनसक्ने बताएका छन्।
स्थानीय तह निर्वाचनको परिणाम र खर्च विवरण सार्वजनिक गर्न मंगलबार आयोजित पत्रकार सम्मेलनमा बोल्दै उनले सम्भवतः अर्को मन्त्रिपरिषद बैठकले निर्वाचनको मिति तोक्ने जानकारी गराए।
आगामी प्रतिनिधिसभा निर्वाचन र प्रदेशसभा निर्वाचन गर्नका निम्ति आयोगले सम्पूर्ण व्यहोरासहित एकै चरणमा गर्ने गरि मिति सिफारिस गरिसकेको उनले बताए ।
आयोगको परामर्समा नेपाल सरकारबाट मिति तय हुने कानुनी व्यवस्था अनुसार आउँदो क्याबिनेटको बैठकबाट मंसिर ४ गतेको मिति तोकियो भने यसलाई आश्चर्य नमानेपनि हुने उनले बताए ।
थपलियाले भने, ‘हदै टाढा गएछ भने अर्को एउटा मिटिङसम्म जानसक्छ कि नभए आयोगले परामर्स दिएकै मितिको सेरोफेरोमा आउँदो निर्वाचनको मिति तोकिन्छ र सम्पन्न हुन्छ भन्नेछ, हामी आन्तरिक तयारीमा लागिसकेका छौ।’
यसअघि मंसिर २ गते चुनाव गर्ने भनिएको थियो । आयोगको सिफारिसका आधारमा १२० दिन समय राखेर मन्त्रिपरिषद्ले केही साताभित्र निर्वाचन मिति घोषणा गर्ने स्रोतले जनाएको छ।
आयोगले एकै चरणमा दुवै तहको निर्वाचन गर्नेगरी सिफारिस तयार पारेको छ। यसअघि स्थानीय तह निर्वाचनमा सरकारले सुरक्षा दिन नसकेको भन्दै दुई चरणमा गर्नेबारे आयोगमा छलफल भएको थियो।
तर, एकै चरणमा मंसिर २ मा चुनाव गर्न उपयुक्त हुने निष्कर्षमा आयोग पुगेको थियो । हिउँद लागेपछि हिमाली भेगमा चुनाव गर्न गाह्रो हुने भन्दै आयोगले यसअघि कात्तिक ३० भित्रै पहिलो चरण र मंसिर पहिलो साता दोस्रो चरणमा चुनाव गर्न सरकारलाई अनौपचारिक सुझाव दिएको थियो।
यसअघि २०७४ मंसिरमा दुई चरणमा दुवै तहको निर्वाचन भएको थियो। नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा नेतृत्वको तत्कालीन सरकारले मंसिर १० र २१ गते दुई चरणमा संसदीय निर्वाचन गरेको थियो।
प्रदेशसभाको चुनाव पनि सँगै भएको थियो। यस पटक पनि देउवाकै नेतृत्वमा तीनै तहको निर्वाचन हुने भएको छ।