Latest News

जनार्दन शर्मा प्रकणमा गृह मन्त्रालयले पनि मच्चायो अर्को काण्ड, यस्तो जवाफले छानविन समिति नै चकित !

Nepalese Times July 26, 2022 (2 Year ago)    415 Views

काठमाडौं ।

गृह मन्त्रालयले बजेट निर्माणमा अनधिकृत व्यक्ति प्रवेश गराएको प्रकरणमा संसदीय छानबिन विशेष समितिले माग गरेको सिंहदरबार गेटको सीसीटीभी फुटेज मेटिएको जवाफ दिएको छ।

छानबिन समितिले सिंहदरबारको दुवै तर्फको गेटको सीसीटीभी फुटेज माग गरेको थियो। जेठ १४ गतेदेखि भोलिपल्ट सम्मको फुटेज माग गरिएकोमा गृहमन्त्रालयले उक्त फुटेज नभएको जवाफ दिएको छानबिन समितिका एक सदस्यले बताए।

मन्त्रालयले १६ दिन अवधिको भन्दा धेरै फुटेज नभएको भन्ने जवाफ दिएको छ। यसअघि अर्थमन्त्रालयभित्रको सीसीटीभी फुटेज भने समितिले पाएको छ।

तर, उक्त फुटेज भने क्लियर नभएको पाइएको छ। यसअघि मेटाइएको भनिएको सीसीटीभी फुटेज मन्त्रालयमा रहेको हार्डडिस्कबाट रिकभर गरिएको हो।

नेपाल प्रहरीको विधि विज्ञान प्रयोगशालाले अर्थ मन्त्रालयको सीसीटीभी फुटेज रिकभर सम्बन्धी रिपोर्ट समितिलाई बुझाएको थियो ।यसअघि मन्त्रालयले सीसीटीभी फुटेज १३ दिनसम्म मात्र कायम रहने र त्यसपछि डिलिट हुने भन्दै सो दिनको फुटेज डिलिट भइसकेको जनाएको थियो ।

त्यसपछि संसदीय समितिले उक्त फुटेज रिकभरका लागि प्रहरीको सहयोग मागेको थियो । साथै सिंहदरबारको गेटकै सीसीटीभी फुटेज पनि समितिले झिकाएको थियो ।

आर्थिक वर्ष २०७९–८० को बजेट प्रतिनिधि सभामा प्रस्तुत गर्नुभन्दा अघिल्लो दिन जेठ १४ गते राति अनधिकृत व्यक्तिलाई मन्त्रालयमा बोलाएर करको दर हेरफेर गरेको आरोप तत्कालीन मन्त्री जनार्दन शर्मामाथि लागेको छ ।

यो आरोपबारे छानबिन गर्न सभामुख अग्नि सापकोटाले गत असार २२ गते ११ सदस्यीय संसदीय छानबिन विशेष समिति गठन गरेका थिए । सोही दिन अर्थमन्त्री पदबाट शर्माले राजीनामा दिएका थिए ।

छानबिनको क्रममा अनधिकृत व्यक्ति संलग्न भएको भन्ने संकेत कतैबाट नपाएपछि सीसीटीभी फुटेज नै अब निर्णायक हुने ठानिएको छ ।त्यसैले सीसीटीभी फुटेजमा के छ भन्ने चासो धेरैको छ । सीसीटीभी फुटेज सम्बन्धमा समितिले आज ४ बजे फरेन्सिक ल्याबका विज्ञसँग छलफल गर्दैछ।

प्रतिक्रिया दिनुहोस