Latest News

प्रधानमन्त्री देउवा र राष्ट्रपति भण्डारीबीचको भेटवार्ता सकियो, के–के भयो कुराकानी ?

Nepalese Times July 24, 2022 (2 Year ago)    563 Views

काठमाडौं ।

प्रधानमन्त्री शेरबहादुर देउवाले राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेटेका छन् । उनले साँझ एक घन्टा महत्वपूर्ण परामर्श गरेको बुझिएको छ ।

देउवाले चुनावको मिति घोषणाका लागि सिफारिश गर्नेबारे परामर्श गरेको बुझिएको छ । आउँदो मन्त्रिपरिषद बैठकबाट चुनवाको मिति घोषणा गर्ने तयारीमा देउवा रहेका छन् ।

सम्भवतः ४ मंसिरमा एकै चरणमा चुनाव गर्ने गरी सिफारिश गर्ने देउवाको तयारी छ । उनले यसबारे राष्ट्रपति भण्डारीसँग छलफल गरी सुझाव लिएको बुझिएको छ । निर्वाचन आयोगको सिफारिसमा सरकारले मिति तय गर्ने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन आगामी मंसिरमा गर्ने तयारी भइरहेको छ।

यसअघि निर्वाचित प्रतिनिधिसभा र प्रदेशसभाका सदस्यहरूको पाँचवर्षे कार्यकाल मंसिर २२ गतेबाट सकिने भएकाले त्यसअघि नै नयाँ जनप्रतिनिधिहरू निर्वाचित भइसक्नुपर्ने कानुनी बाध्यता रहेको निर्वाचन आयोगका पदाधिकारीहरूले बताउँदै आएका छन्।

देशभरि एकै चरणमा सम्पन्न गर्न सकिने निर्वाचन आयोगको दाबी रहे पनि यसअघि जस्तै दुई चरणमा गर्ने वा एकै चरणमा गर्नेबारे निर्णय भइसकेको छैन।

पूर्वनिर्वाचन आयुक्त इला शर्माका अनुसार प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन देश र सम्बन्धित प्रदेशको कानुन, नीति र सरकार निर्माताहरू चयन गर्ने अवसर हो।

प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा निर्वाचनमा सबै बालिग मतदाताले मतदान गर्न पाउने व्यवस्था छ। तर त्यसका लागि निर्वाचन आयोगले सङ्कलन गर्ने मतदाता नामावलीमा अनिवार्य नाम दर्ता गरेको हुनुपर्छ। आयोगले निर्वाचनको मिति घोषणा नहुँदासम्म मतदाता नामावलीमा नाम सङ्कलन र अद्यावधिक गर्ने गरेको छ।

प्रत्येक नागरिकले १६ वर्ष पूरा भएपछि मतदाता नामावलीमा नाम दर्ता गर्न पाउँछन्। तर १८ वर्ष उमेर पूरा नभई मतदाता नामावलीमा नाम दर्ता भए पनि मतदान गर्न पाइँदैन।

कहिलेसम्म १८ वर्ष उमेर पूरा भएका व्यक्तिहरूलाई मतदान गर्न दिने भन्ने “कट अफ डेट” आयोगले निर्वाचनको मिति तय भएपछि मात्रै तय गर्ने गरेको छ।

मतदानको अघिल्लो दिनसम्म उमेर पुगेका मतदातालाई साधरणतया आयोगले मतदानका लागि योग्य ठहर गर्ने गरेको छ। गत वैशाख ३० गते सम्पन्न स्थानीय तह निर्वाचनमा वैशाख २९ गतेसम्म १८ वर्ष पूरा भएकाले मतदान गर्न पाएका थिए।

प्रतिनिधिसभा निर्वाचनमा खटिएका कर्मचारीहरूले पनि आफू खटिएको स्थानबाटै मतदान गर्न पाउने व्यवस्था गरिन्छ। तर उनीहरूले समानुपातिकतर्फ मात्रै मतदान गर्न पाउँछन्। आयोगले यसबारे पनि मिति घोषणा भएपछि मात्रै निर्णय गर्ने गरेको छ।

निर्वाचन कानुनअनुसार उम्मेदवार हुनका लागि २५ वर्ष पूरा भएको हुनुपर्छ। तर सरकारी जागिरमा रहेका र गम्भीर फौजदारी कसुरमा सजाय पाएका व्यक्तिहरूले उम्मेदवार बन्न पाउँदैनन्।

प्रतिक्रिया दिनुहोस