Latest News

खाना खाएको फोटो ट्रोल बनाएर भाइरल भएपछि प्रदीप ज्ञवालीले संसदमा दिए यस्तो प्रतिक्रिया

Nepalese Times July 21, 2022 (2 Year ago)    352 Views

काठमाडौं ।

नेकपा एमालेका सांसद प्रदीप ज्ञवालीले महँगीको विषयमा आफ्नो कुरालाई बंग्याइएको बताएका छन्। संसदमा बोल्दै उनले आफ्नो अभिव्यक्तिलाई विषयान्तर गरेर ट्रोल गरिएको जिकिर गरे।

ज्ञवालीले एमालेको उपभोक्ता विभागले आयोजना गरेको कार्यक्रममा पूर्व मन्त्री र सांसद भए पनि भान्सामा दुई थरी तरकारी पकाउन मुस्किल भएको बताएका थिए।

पूर्वमन्त्रीसमेत रहेका ज्ञवालीको उक्त भनाईपछि वरिपरी परिकार सहितको फोटो सार्वजनिक भएको थियो।

“सत्तारुढ दलका साथीहरू मुल्य बृद्धिको कुरा उठाउनेलाई फोटोशप गरेर हुन्छ कि के गरेर हुन्छ ‘ट्रोल’ बनाउने तिर लाग्छन्” बैठकमा ज्ञवालीले भने, “मैले पनि यो विषय उठाएको थिएँ, अमेरिकामा खाना खाइरहेको फोटो राखेर ट्रोल गरियो। त्यसो गरेर उहाँहरूको भान्सा सस्तो हुन्छ भने मेरो शुभकामना छ, सस्तोहोस् भन्दै ज्ञवालीले संसदमा स्पष्ठिकरण दिएका हुन्।

‘मैले अमेरिकामा खाना खाँदै गरेको फोटो जोडेर मलाई ट्रोल गरियो यसले कसैको भान्सा सस्तो हुन्छ भने मेरो शुभकामना,’ उनले भने।

यस्तै एमालेका सांसद महेश बस्नेतले प्रधानमन्त्री शेरबहादुर देउवा र पुष्पकमल दाहाल (प्रचण्ड)लाई कारबाही हुनुपर्ने बताएका छन्।

एमालेको अर्थ विभागका सदस्य एम अधिकारीबारे सांसद्‌हरुले गरेको टिप्पणीप्रति लक्षित गर्दै बस्नेतले देउवा र प्रचण्डमाथि कारबाही हुनुपर्ने बताएका हुन्।

प्रतिनिधि सभाको बिहीबारको बैठकमा बोल्दै सांसद बस्नेतले देशी/विदेशी शक्ति गुहारेर पालैपालो राष्ट्रपति र प्रधानमन्त्री बनेर राज्यको दोहोन गर्ने र परिवारवाद लाद्‌ने नेता एस देउवा, माओवादी नेता पी दाहाल र नेतृ ए राणा देउवालाई खोजेर कार्बाही गर्नु पर्ने हैन र? भन्दै प्रश्न गरे।

पूर्वअर्थमन्त्री जनार्दन शर्मालाई ‘जी शर्मा’ भनेर सम्बोधन गरेका बस्नेतले शर्माले ६ अर्बभन्दा बढी कमिसनको गडबड गरेको आरोप लगाए। बजेटमा रातारात सेटिङ गर्ने, भन्सारको दररेट फरक पार्ने, सीसीटीभीका प्रमाण नष्ट पार्ने, ६ अर्बभन्दा बढी कमिसन गढबढ गर्ने जी शर्माको समेत खोजी गरेर कारबाही हुनुपर्ने बस्नेतको भनाइ थियो।

पेट्रोलियम पदार्थको भाउ, कालो बजारी, महंगीलाई प्रत्सोहन गर्ने डी बडूलाई समेत कारबाही गरिनुपर्ने बस्नेतको भनाइ छ।

प्रतिक्रिया दिनुहोस