काठमाडौं । विवेकशील(साझा पार्टीका पूर्वअध्यक्ष रविन्द्र मिश्रले उम्मेदवारी घाषणा गरेका छन् ।
उनले आगामी संसदीय चुनावमा काठमाडौंबाट उम्मेदवारी दिने भएका छन् । अघिल्लो चुनावमा लडेको क्षेत्र नम्बर १ बाटै उनले दोस्रोपटक लड्ने भएका हुन् ।
काठमाडौं १ बाट उम्मेदवारी दिने निश्चित भए पनि विवेकशील साझाबाटै लड्ने वा त्यसबाट अलग भएर स्वतन्त्र उठ्ने भन्ने तय भइनसकेको मिश्रनिकट स्रोतले जनाएको छ ।
विवेकशील(साझामा तीव्र विवाद उत्पन्न भएसँगै स्थानीय चुनावमा पार्टीले खराब नतिजा व्यहोरेपछि मिश्रले पार्टीको अध्यक्षबाट राजीनामा दिएका थिए ।
अहिले उनी सो पार्टीको साधारण सदस्यका रुपमा छन् । मिश्रले राजीनामा दिएपछि विवेकशील(साझा भताभुंग अवस्थामा छ । पार्टीको एउटा बैठकसमेत बस्न सकेको छैन । कसैले कसैलाई टेर्ने अवस्था छैन ।
कतिपयले मिश्रलाई नेतृत्वमा फर्किन पनि सुझाव दिएका छन् । तर, पार्टीले आफ्नो विचारलाई ग्रहण नगर्ने अवस्थामा आफू नेतृत्वमा नफर्किने उनले स्पष्ट पारेका छन् । उनी विचार मिल्नेहरुसँग ध्रुवीकरणको पक्षमा छन् । पार्टीमा निकास निकाल्नका लागि मिश्र अहिले पनि प्रयासरत छन् ।
केही समयअघि विवेकशील साझा र राप्रपाबीच एकताको चर्चा चलेको थियो । मिश्रले राप्रपा अध्यक्ष राजेन्दै लिङ्देनसँग केही चरण वार्ता पनि गरेका थिए । तर, पार्टीभित्र विवाद उत्पन्न भएपछि उनी रोकिए।
विवेकशील साझाबाट राजीनामा दिएपछि फेरि उनी राप्रपामा जान सक्ने गसिप सुरु भएको छ । तर, मिश्रले राप्रपासँग कुराकानी अघि नबढेको बताए ।
मिश्रले अघिल्लो ससदीय चुनावमा काठमाडौ १ बाट उम्मेदवारी दिएका थिए । त्यसबेला कांग्रेसका प्रकाशमान सिंहले उनलाई झिनो अन्तरले हराएका थिए