Latest News

अन्ततः राजसंस्था चाहिन्छ भन्दै रवीन्द्र मिश्रले गरे यस्तो घोषणा

Nepalese Times July 19, 2022 (2 Year ago)    409 Views

काठमाडौं ।

विवेकशील साझा पार्टीका पूर्व अध्यक्ष रवीन्द्र मिश्र संवैधानिक राजसंस्थाको पक्षमा खुलेका छन् ।

‘विचारभन्दा माथि देश’ नामक उनले नयाँ पुस्तक लेखेका छन्, जसमा मिश्रले नेपालमा संवैधानिक राजसंस्था पुनःस्थापना गर्नुपर्ने बताएका छन् । सङ्घीयता खारेज गरी नेपाललाई ‘हिन्दू–बौद्ध राष्ट्र’ बनाउनुपर्ने समेत उनको प्रस्ताव छ ।

उनले ‘विचारभन्दा माथि देश’मा मिश्रले गणतन्त्र, सङ्घीयता र धर्म निरपेक्षता जस्ता विषय सैद्धान्तिक रूपमा गलत नभए पनि दिनप्रतिदिन संवेदनशील हुँदै गएको नेपालको भूराजनीति र आन्तरिक परिस्थितिका कारण ती विषय नेपालको दूरगामी हितका लागि घातक भएको निष्कर्ष निकालेका छन्।
उनले ढिलो नगरीकन नेपालमा संवैधानिक राजसंस्था पुनःस्थापना तथा सङ्घीयता खारेज गरी नेपाललाई ‘हिन्दू–बौद्ध राष्ट्र’मा रूपान्तरण गर्नुपर्ने बताएका छन्। उनी भन्छन्, ‘कुनै विषय सैद्धान्तिक रूपमा राम्रो भएर मात्र हुँदैन, त्यसले धरातलीय यथार्थसँग तादात्म्य राख्नुपर्छ।’
नेपाललाई इतिहासका गल्ती र भविष्यका चुनौतीको कसीमा राखेर हेर्ने हो भने अब पृथ्वीनारायण शाहको ‘दिव्य उपदेश’ र बिपी कोइरालाको ‘राष्ट्रिय एकता र मेलमिलापको नीति’लाई समायोजित रूपमा अङ्गीकार गर्नुको विकल्प नभएको उनको निष्कर्ष छ।
‘हामीभन्दा माथिको पुस्ताले स्वार्थकेन्द्रित नभई राष्ट्र–केन्द्रित राजनीति गरिदिएको भए आज देशको अर्थतन्त्र, सहर–बजार र स्वाभिमानको स्थिति यति नाजुक हुने थिएन। ६०-७० लाख युवा बिदेसिन बाध्य हुने थिएनन्। आफ्नो सुविधा, लाभ, पद, प्रतिष्ठा र आसन्न चुनावलाई मात्र केन्द्रमा राखेर गरिने राजनीति राष्ट्रघात हो। आफ्नै लागि त जीवनमा गर्न सकिने अरू धेरै काम छन्, राजनीति गर्न पर्दैन। राजनीति भनेको देशकै लागि गर्ने हो। त्यसैले, कम्तीमा ३० वर्षपछिको नेपाललाई मनन गरेर यी विषय उठाएको हुँ,’ मिश्रले पुस्तकमा लेखेका छन्।
मिश्रले गत वर्ष विवेकशील साझा पार्टीको अध्यक्ष हुँदा सङ्घीयता खारेजी र धर्म निरपेक्षताबारे जनमतसङ्ग्रह नेपालका लागि अत्यावश्यक रहेको बताउँदै ‘बहस र छलफल’का लागि एउटा दस्तावेज सार्वजनिक गरेका थिए।
उक्त दस्तावेजमाथि देशभरबाट आम रूपमा प्राप्त प्रतिक्रिया, भएका छलफल र बहस तथा बढ्दै गएको देशको भूराजनीतिक र आन्तरिक संवेदशीलतालाई मनन गरेर त्यसलाई परिमार्जन र विस्तार गरी पुस्तकको रूप दिएको मिश्रले बताएका छन्।
फाइनप्रिन्टले प्रकाशन गर्न लागेको यस पुस्तकबाट प्राप्त हुने सम्पूर्ण लेखकस्व (रोयल्टी) राजनीतिक शुद्धीकरणको अभियानमा जाने मिश्रले उल्लेख गरेका छन्।
यसअघि प्रकाशित उनको पुस्तक ‘राजनीतिसँगै राजकाज’को लेखकस्व पनि उनले राजानीतिक सुधारकै प्रयासका लागि प्रदान गर्दै आएका छन्। यस्तै राजावादी व्यक्ति खोज्नकै लागि मिश्रले साउन ३२ गते शनिवार पार्टीका नेता तथा सदस्यहरुसँग अन्तरक्रिया गर्न थालेका छन्।

राप्रपामा सहअध्यक्ष पाएर प्रवेश गर्न या राप्रपा फुटाएर नयाँ राष्ट्रवादी शक्ति बनाउने सोचमा रहेका मिश्रले पार्टीका नेता तथा सदस्यहरुलाई होल्ड गर्न यो अन्तरक्रिया गर्न लागेका हुन्।

मिश्र निकट श्रोतका अनुसार मिश्रले यो अन्तरक्रियामा आफ्ना एजेण्डा प्रष्टसँग राख्ने तयारी गरेका छन्। धर्म निरपेक्षतामा जनमत संग्रह र संघीयता खारेजीको मुद्धा उठाउँदै विचार भन्दा माथि देश दस्तावेज सार्वजनिक गरे पछि मिश्र नेतृत्वको विवेकशील साझाले गएको स्थानीय निर्वाचनमा नराम्रो पराजय व्यहोरेको थियो।

विचारभन्दा माथि देश दस्तावेजको पहिलो ड्राफ्टमै मिश्रले नेपालमा शाहवंशीय राजतन्त्र आवश्यक रहेको उल्लेख गरेका थिए। उक्त ड्राफ्ट आफू निकटका कार्यसम्पादन समितिका सदस्यहरुलाई पठाएका मिश्रहरुले आफू निकटकाले नै राजतन्त्रको मुद्धा बोक्न नसक्ने बताएपछि हटाएर सार्वजनिक गरेका थिए।

मिश्रले स्थानीय निर्वाचन अगाडिनै राप्रपासँग एकता गर्ने प्रयास गरेका थिए। राप्रपामा लिङ्देनकै बराबरीको अधिकार सहित सहअध्यक्ष पद मागेपछि वार्ता भंग भएको थियो। त्यसैले मिश्रले ढिलो गरि स्थानीय निर्वाचनमा जाने निर्णय गरेका थिए।

पार्टीको अध्यक्ष पदबाट राजिनामा दिएका मिश्रले पुन राप्रपासँग एकीकरणको प्रयास गरे। राप्रपासँग पुन एकीकरणको संवादमा मिश्रले आफूसँगै सिटीजन्स डिस्कसन फोरमबाट विवेकशील साझामा भि†याएका राजावादी नेता नारायण कोइराला र पार्टीका प्रवक्ता शरदराज पाठक समेतलाई सहभागी गराएका थिए। तरपनि राप्रपाले मिश्रलाई खासै महत्व नदिएर महामन्त्री धवल शमसेर राणा नेतृत्वको वार्ता समितिनै भंग गरेको थियो।

राप्रपाले वार्ता समिति भंग गरेपछि अत्तालिएका मिश्रले विवेकशील साझामा अध्यक्ष मण्डलको प्रस्ताव गरे। अध्यक्ष मण्डल नबनेसम्म पार्टीका सदस्यहरुसँग अन्तरक्रिया नगर्ने बताएका मिश्रले राप्रपा फुटाएरै भएपनि राप्रपा जान सकिने संभावना देखेपछि आफ्नै पार्टीभित्र राजावादीहरु खोज्न थालेका हुन्।

प्रतिक्रिया दिनुहोस