काठमाडौं ।
नेकपा माओवादी केन्द्रका स्थायी कमिटी सदस्य नारायणकाजी श्रेष्ठले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग चित्त दुखाएका छन् ।
शनिवार दुवै नेता सहभागी एक कार्यक्रममा ओलीले नेपालमा एमालेबाहेक अरु वामपन्थी दल नभएको अभिव्यक्ति दिएपछि वामपन्थी पार्टीहरूबीच एकताको पहल गरिरहेका श्रेष्ठले चित्त दुखाएका हुन् ।
नेपाल चीन मैत्री समाजले काठमाडौंमा आयोजना गरेको अन्तरक्रियामा श्रेष्ठले वामपन्थी दलहरूबीच एकता गर्नुपर्ने त्यो सम्भव नभएमा पनि आगामी निर्वाचनमा तालमेल गर्नुपर्ने धारणा राखेका थिए ।
उनले विगतमा जस–जसले जे–जे गल्ती गरे पनि त्यसप्रति आत्मालोचित भएर एकताको वातावरण बनाउनुपर्ने बताएका थिए । श्रेष्ठपछि बोलेका ओलीले नेपाली कांग्रेसको नेतृत्वमा सरकार गठनको प्रयास गर्ने माओवादी केन्द्र वामपन्थी पार्टी नभएको जवाफ दिएका थिए ।
उनले पार्टी एकता चाहेको भए कांग्रेसको पुच्छर समाउन छाडेर आउन चुनौती दिएका थिए । ओलीको जवाफपछि नेता श्रेष्ठले आइतवार फेसबुकमा लामो स्टाटस लेखेर आफू अझै वाम एकताकै पक्षमा रहेको बताएका छन् । उनले ओलीको अभिव्यक्तिप्रति चित्त पनि दुखाएका छन् ।
उनले लेखेका छन्, ‘अध्यक्ष क. केपी ओलीले को छ अरू वामपन्थी पार्टी ? भन्दै आफ्नो पार्टी मात्र वामपन्थी भएको खालको विचार प्रकट गर्नुभयो । क. ओलीले प्रम हुँदा संविधानको प्रावधानविरुद्ध प्रतिनिधिसभा विघटन गरेको कारणबाट उहाँ नेतृत्वको एमालेको लोकतान्त्रिक विश्वसनीयतामाथि समेत प्रश्न उठ्ने गरेको विषयमा आत्मालोचक हुनुको सट्टा त्यस प्रकारको अभिव्यक्ति दिनु निश्चय पनि सकारात्मक संकेत होइन ।’
उनले लेखेका छन्, ‘यसले अहम् त तुष्टि गर्ला तर देश, जनता र वामपन्थी आन्दोलनलाई कुनै योगदान पुर्याउने छैन ।’
उनले कार्यक्रममा सहभागीहरूसँग पनि चित्त दुखाएका छन् । ‘मैले आत्मालोचक भई वाम तालमेल र एकता गरौँ भन्ने प्रस्ताव राख्दा हलमा उपस्थित श्रोता सहभागीहरूले कर्तल ध्वनीका साथ ताली बजाएर समर्थन गर्नु भएको थियो ।’ उनले भनेका छन् ।
उनले भने, ‘तिनै श्रोता सहभागीहरूले क. ओलीले अहँकारको प्रदर्शन गर्दै वामएकतामा ठेस पुग्ने गरी बोल्दा पुनः अझ जोडले ताली बजाउनु भयो । यसले वाम तालमेल र एकतालाई सहयोग पुर्याउँछ त ? पुर्याउँदैन । हामी कहिले सच्चिने होला ?गम्भीरतापूर्वक सोचौँ ।’
उनले अहिलेको आवश्यकता वाम एकता नै भएको दोहोर्याएका छन् । ‘राजनीतिलाई व्यक्ति वा समूह स्वार्थकेन्द्रित धन्दा नबनाउने हो भने देश र आन्दोलनको आवश्यकता आज वाम तालमेल र एकता नै हो,’ उनले अपिल गरेका छन् ।
उनले भनेका छन्, ‘सबैले गम्भीर आत्म–आलोचक भावसहित इमान्दार अग्रसरता देखाउनु पर्छ । बेलैमा बुद्धि पुर्याऔँ, नत्र धेरै ढिलो भइसकेको हुन सक्नेछ । त्यसबेला पछुतो मात्र बाँकी होला कि । समयमै सोचौँ ।’