काठमाडौं ।
नेपाली काँग्रेसका उपसभापति धनराज गुरुङले पार्टी सभापतिको हात बलियो बनाउन तेलको कचौरा लिएर पाखुरामा लगाउन जान नसकिने बताएका छन् ।
पार्टीको केन्द्रीय समिति बैठकमा धारणा राख्दै उपसभापति गुरुङले पार्टीलाई बलियो बनाउन आफूहरू लागि रहेको बताउँदै त्यसका लागि सभापतिको हातमा तेल चाहिँ घस्न नसक्ने स्पष्ट पारेका हुन् ।
उनले बैठकमा नेताहरू वादी प्रतिवादी झैँ प्रस्तुत भएकोमा असन्तुष्टि व्यक्त गरे । यसरी पार्टी बन्न नसक्ने उनको भनाइ थियो ।
पार्टीका महामन्त्री गगन थापाको आलोचना गरेकोमा उनले आपत्ति जनाए । उनले भने, ‘तपाईंहरू वैचारिक रूपमा बलियो बनाउन हिँडेका गगनलाई बहिष्कार गर्छु भनिरहनुभएको छ। गगनले लिड नगरेको भए एमसीसी पास गर्ने हिम्मत कसको थियो ?’
उनले सभापति शेरबहादुर देउवाको आवश्यकताभन्दा बढी आलोचना गरेकोमा पनि नेताहरूलाई सचेत गराए । अहिले केही नेताहरु सभापतिको नाकमा झिँगा बसेको छ, भनेर तरबार बोकेर हिँडिरहेका भन्दै उनले सभापतिले तरबारले हान्दा झिँगा मर्छ कि नाक काटिन्छ भनेर विचार गर्नुपर्ने बताए ।
यस्तै कांग्रेस महामन्त्री विश्वप्रकाश शर्माले नेतृत्वको प्रशंसा गर्ने नाममा ॐ जय, जगदीश हरे गरेर घण्टी बजाउन नसकिने बताएका छन् । केन्द्रीय समितिको बैठकमा बोल्दै उनले नेतृत्वको प्रशंसा गर्ने नाममा जे पनि नगर्न भनेका हुन्।
एउटा नेताको पक्षधरता राख्न अर्कोलाई थोरै होच्याउने गरी बोल्नु राजनीतिको विसंगतिको पाटो भएको भन्दै उनले यस्तो चेतावनी दिएका हुन् ।
एउटा नेताको पक्षधरता राख्न अर्कोलाई थोरै होच्याउने गरी बोल्नु हाम्रो राजनीतिको विसंगत पाटो भएको भन्दै उनले नेतृत्वको प्रशंसा गर्ने नाममा ॐ , जय , जगदीश हरे गरेर घण्टी नबजाउन र आलोचना गर्ने नाममा, डन्डी पनि नचलाउन आग्रह गरे ।