Latest News

विवादमा आएपछि बल्ल बोले बालेन, दिए यस्तो स्पष्टिकरण

Nepalese Times July 14, 2022 (2 Year ago)    312 Views

काठमाडौं ।

काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहले ई–स्पोर्टसका लागि छुट्याइएको बजेट कुनै अमुक संस्था वा खेलका लागि नभएको स्पष्ट पारेका छन्।

सञ्चारमाध्यम तथा सामाजिक सञ्जालहरुमा उठेको प्रसंगका विषयमा आफ्नो ध्यानाकर्षण भएको भन्दै उनले ‘पत्रकारिताको मर्यादाभित्र बसेर आफ्नो कार्य गर्न, गराउन’ आग्रह गरेका छन्।

‘ई–स्पोर्टसका लागि छुट्याइएको बजेट कुनै अमुक संस्था वा खेलका लागि होइन। आधुनिक विश्वमा ई–स्पोर्टस खर्बौँको आर्थिक योगदान गर्ने विधा हो’ बालेन्द्रले भने, ‘नेपालमा पनि यसको व्यवसायिक पाटो बढ्दैछ भने यही वर्ष हुने एसियाली खेलमा ई–स्पोर्टस पनि समावेश हुनेछ र योग्य रहेमा नेपाली ई–स्पोर्टसका खेलाडीहरूले पनि सहभागी भएर राष्ट्रको गरिमा बढाउन सक्नेछन्। यसलाई व्यवस्थित र सिर्जनशील बनाउनका लागि महानगरले बजेट छुट्याएको हो।’

कानुनले तोकिए बमोजिमको प्रक्रिया अपनाएर पारदर्शी किसिमले बजेट कार्यान्वयन हुने उनले बताएका छन्। ‘फलानो संस्था वा फलानो खेलका लागि सुनिश्चित गर्ने जस्ता गैरकानुनी र अनैतिक कार्यमा महानगर सामेल हुने छैन’ उनले भनेका छन्।

काठमाडौं महानगरपालिकाले पछिल्लो समय एसियाली खेलकुद प्रतियोगितामा पनि सहभागिता जनाउन लागेको ई–स्पोर्ट्स प्रतियोगिताका लागि बजेट विनियोजन गरेको बताएको छ । तर, यसमा रुटिन अफ नेपाल बन्द या डीएसआरलाई प्रतियोगिता गर्न दिने विषयमा कुनै उल्लेख नभएको बताएको छ ।


महानगरपालिकाका खेलकुद विभाग प्रमुख दीपक अधिकारीले योजनामा ई–स्पोर्ट्स प्रतियोगिता आयोजना बाहेक अन्य कुनै पनि विषयमा उल्लेख नभएको बताए । अब प्रतियोगिता गर्नका लागि आफूहरू राष्ट्रिय खेलकुद परिषद् (राखेप) या नेपाल ई–स्पोर्ट्ससँग समन्वय गरेर जाने बताएका छन् ।

‘योजनामा ई–स्पोर्ट्स प्रतियोगिता आयोजना गर्नका लागि भनेर बजेट विनियोजन गरिएको छ । त्यसमा रुटिन आफ नेपाल बन्द भन्ने छैन । हामी राखेप र नेसासँग समन्वय गरेर प्रतियोगिता आयोजना गर्ने प्रक्रियामा जानेछौँ,’ अधिकारीले कुराकानीमा भने ।

सन् २०१७ मा विश्वभर ई–स्पोर्टसमा सहभागि सङ्ख्या ३३ करोड ५० लाख थियो । उक्त सङ्ख्या सन् २०१८ मा ३९.५ करोड सङ्ख्या रहेको ई–स्पोर्ट्समा सन् २०२१ मा आउँदा झन्डै ४८ करोड सहभागी छन् । सन् २०२२ मा यो सङ्ख्या ५३ करोड पुग्ने अनुमान रहेको छ ।

ई–स्पोर्ट्सले सन् २०२२ मा विश्वभर १.३८ बिलियन डलर आर्जन गर्ने आँकलन रहेको छ । यसमा एक तिहाइ बजार भने चीनमा रहेको छ । सन् २०२० मा ९ सय ९६ मिलियन डलर आर्जन गरेको ई–स्पोर्ट्सले सन् २०२१ मा १.१३ बिलियन डलर आर्जन गरेको थियो ।

नेपाली बजारमा पछिल्लो समय चर्चामा रहेको र्ई–स्पोर्ट्सले धेरै खेलाडीलाई व्यावसायिक बनाउन सक्ने अवस्था छ । ई–स्पोर्ट्समार्फत् नै विदेशी खेलाडीहरु नेपालमा ल्याएर प्रचार गर्न सकिए यसले पर्यटनमा समेत टेवा पुग्न सक्छ । ई–स्पोर्ट्सलाई राज्यले उचित लगानी गर्न सकेमा नेपालमा पनि यसको प्रचुर सम्भावना रहेको विज्ञहरूको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस