Latest News

‘एम अधिकारी’ प्रकरणमा एमालेको धारणा सार्वजनिक भएलगत्तै नारायणकाजीले दिए यस्तो प्रतिक्रिया

Nepalese Times July 14, 2022 (2 Year ago)    328 Views

काठमाडौं । नेकपा माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले तत्काल राजीनामा दिनुपर्ने बताएका छन् ।

राष्ट्रियसभा सदस्यसमेत रहेका उनले राष्ट्रियसभा बैठकमा कपा एमालेको अर्थ तथा योजना विभागका सदस्य एम अधिकारी भनेर उल्लेख भएको र त्यो उहाँको संक्षिप्त नाम हो भन्ने रहेको उल्लेख गरे ।

२०७३ सालमा उक्त विभागमा महाप्रसाद अधिकारीको नाम रहेको र अहिले एम अधिकारीको नाममा रुपान्तरित भएर अर्थ तथा योजनाविद् भनेर राखिएको उनको दाबी छ ।

उनले यस विषयमा एमालेले विश्वसनीय ढङ्गले खण्डन नगरेको भन्दै गर्न सक्ने स्थिति पनि होला कि नहोला भन्ने प्रश्न गम्भीर रहेको बताए ।नेता श्रेष्ठले अघिल्लो सरकारले विरोध गरेको संवैधानिक परिषदसम्बन्धी विधेयक अघि बढाउन नहुने जिकिर पनि गरे ।

तर नेकपा एमालेले पार्टीको अर्थ तथा योजना विभागमा एम अधिकारी, खोटाङ भनी उल्लेखित व्यक्ति राष्ट्र वैंकका गभर्नर महाप्रसाद अधिकारी नभएको जनाएको छ ।

गभर्नर अधिकारीले एमालेलाई लेखेको पत्रको जवाफ दिँदै सो पार्टीका केन्द्रीय कार्यालय सचिव डा. भिष्म अधिकारीले एम अधिकारी नै गभर्नर महाप्रसाद भनी भ्रम सिर्जना भएकोमा ध्यानाकर्षण भएको जनाएका छन् ।

उनले एमालेको कमिटी र विभागहरूमा सार्वजनिक पद धारण गरेका व्यक्तिहरू रहने वैधानिक व्यवस्था नरहेको भन्दै एम अधिकारी गभर्नर महाप्रसाद अधिकारी नभएको प्रष्ट पारेका छन् ।

गभर्नर अधिकारीले यसअघि एमाले केन्द्रीय कार्यालयलाई पत्र लेखी विभिन्न मिडियामा आफ्नो नाम जोडेर एम अधिकारी भन्ने व्यक्ति आफू नै रहेको भान हुनेगरी समाजमा भ्रम सिर्जना भएको जनाएका थिए ।

आफू कुनै पनि दलको सदस्य नरहेको र कुनै दल विशेषको समितिमा रहने, बस्ने भन्ने कुरा कल्पना बाहिरको विषय रहेको भन्दै अधिकारीले यसबारेमा प्रष्ट पारेर आफूलाई समेत जानकारी दिन पत्र लेखेका थिए ।

प्रतिक्रिया दिनुहोस