काठमाडौं ।
काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह र एमाले अध्यक्ष केपी ओलीबीच दोस्रो पटक भेटवार्ता भएको छ।पूर्वप्रधानमन्त्रीसमेतहेका ओलीलाई भेट्न मेयर बालेन्द्र बुधबार अपरान्ह बालकोट पुगेका थिए।
त्यस क्रममा बालेन्द्रलाई ओलीले एउटा तबला उपहार दिएका छन। एमाले सुदूरपश्चिमका नेता कर्ण बहादुर थापाका अनुसार बालकोटमा अकस्मात भेट भएको हो।
ओली भानु दिवसका दिनमा आयोजित कार्यक्रम सकेर बालकोट पुगेपछि मेयर बालेन्द्रसँग भेट भएको हो। ओलीले भानुभक्तले लगाउने बिर्खे टोपी लगाएका थिए।
यसअघि काठमाडौं महानगरपालिकाको मतगणना जारी रहँदा ओलीलाई भेट्न बालेन्द्र सुटुक्क बालकोट पुगेका थिए।बुधबार बिहान मात्रै एमालेबाट काठमाडौं महानगर प्रमुखमा उम्मेदवार बनेका केशव स्थापितलाई भेट्न बालेन्द्र उनकै निवास पुगेका थिए।
चाबहिल-बौद्ध क्षेत्रमा सडक तथा ढलको अनुगमन गर्न पुगेका बालेनसंगको भेटपछि स्थापितले साहलाई आफ्नो घरमा लगेका थिए।
स्थापितले बालेनसँग काठमाडौं महानगरका लागि आफूले तयार पारेका योजना सुनाएका थिए। काठमाडौं महानगरमा के के काम गर्न सकिन्छ भनेर आफ्नो आइडिया शेयर गरेका थिए ।
स्थापितले ‘काठमाडौं आफ्नो जन्मथलो भएकाले यहाँको विकासमा सहयोग पुर्याउन सधैँ आफू तयार रहेको बताएका थिए।
यस्तै काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहले नेपाली कांग्रेसको तर्फबाट मेयरकी प्रतिस्पर्धी सिर्जना सिंहसँग भेट गरेका छन्। शनिबार बालेन्द्रसँग र सिंहबीच भेटवार्ता भएको हो। गत ३० वैशाखमा सम्पन्न स्थानीय तह निर्वाचनमा उनीहरु दुईजना एक अर्काका प्रतिस्पर्धी थिए।
सिंह सत्ता गठबन्धनबाट मेयरको उम्मेदवार थिइन्। स्वतन्त्रबाट उठेका बालेन्द्र सिंहलाई पराजित गर्दै निर्वाचित भएका हुन्।उनीहरुबीचको भेटमा सिंहले चुनावका क्रममा घोषणापत्रमा ल्याएका योजना पूरा गर्ने प्रतिबद्धता मेयर शाहले गरेका छन्।
सिंहले काठमाडौंका सार्वजनिक क्षेत्रमा निःशुल्क खानेपानी व्यवस्था गर्ने एजेण्डा अघि सारेकी थिइन्। त्यसबारे छलफल गरेर काम गर्ने शाहले प्रतिवद्धता जनाएका छन्।
चुनावअघि बालेनले मेयरका दुई प्रतिस्पर्धी स्थापित र सिंह आफ्नो बुवाआमाजस्तै भएको टिप्पणी गरेका थिए । बालेन्द्रले ६१ हजार ७ सय ६७ मत ल्याएर विजयी हुँदा सिर्जनाले ३८ हजार ३ सय ४१ मत प्राप्त गरेर दोस्रो भएकी थिइन्।