काठमाडौं ।
नेकपा एमालेका प्रचार विभाग उपप्रमुख विष्णु रिजालले ‘एम अधिकारी’ एक गैरसरकारी संस्थामा काम गर्ने कर्मचारी भएको बताएका छन् ।
एम अधिकारी भनेको नेपाल राष्ट्र बैंकका गर्भनर महाप्रसाद अधिकारी भएको दाबी गर्दै केही दिनदेखि भ्रम फैलाउने काम भइरहेको उनको तर्क छ ।
रिजालले भने, ‘नेकपा एमालेको अर्थ तथा योजना विभागका सदस्य एम अधिकारी महाप्रसाद अधिकारी होइनन् । एम अधिकारी एक जना गैरसरकारी संस्थामा कार्यरत व्यक्ति हुन् ।’
तर उनले भने अनुसार नै नेकपा एमालेले एम अधिकारी को हुन् भन्नेबारे भने अझै भन्न सकिरहेको छैन । गभर्नर महाप्रसाद अधिकारी नेकपा एमालेको विभागीय जिम्मेवारीमा रहेको भन्दै उनको चर्को आलोचना भइरहेको छ ।
यसबारे एमाले अर्थ तथा योजना विभागका प्रमुख घनश्याम भूसालले पनि मुख खोलेका छन् । पार्टीको कमिटी र विभागहरूमा सार्वजनिक पद धारण गरेका व्यक्ति रहने वैधानिक व्यवस्था नरहेको उनले बताएका छन् ।
राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीलाई एमालेले उक्त विभागको सदस्य बनाएको भन्ने समाचार सार्वजनिक भएपछि भूसालले भनाइ आएको हो ।
गभर्नर अधिकारी आफैंले पनि कुनै पार्टी राजनीतिमा संलग्न नरहेको स्पष्ट पारेको पनि भूसालले बताएका छन् । भूसालले यसबारे सामाजिक सञ्जालमा लेखेका हुन् ।
भूसालले लेखेका छन् : ‘म प्रमुख रहेको नेकपा (एमाले), अर्थ तथा योजना विभागमा गभर्नर महाप्रसाद अधिकारीको संलग्नताबारे मसँग समेत धेरै जनाले चासो र जिज्ञासा राख्नुभएको छ । प्रथमत:, स्वयं गभर्नर महाप्रसाद अधिकारीले कुनै पार्टी राजनीतिमा आफ्नो संलग्नता नरहेको र उक्त व्यक्ति पनि आफू नभएको स्पष्ट पारिसक्नुभएको छ।
दोस्रो, हाम्रा कमिटी र विभागहरुमा त्यस्ता सार्वजनिक पद धारण गरेका व्यक्तिहरू रहने वैधानिक व्यवस्था पनि नभएको कुरा जानकारी गराउन चाहन्छु ।’
यद्यपि भूसालले गभर्नर अधिकारी आफू सम्बद्ध कमिटीमा रहेको वा नरहेको भनी ठोस रुपमा केही उल्लेख गरेका छैनन् । गभर्नर अधिकारीलाई एम अधिकारी भनेर एमालेले अर्थ तथा योजना विभागको सदस्य बनाइएको भन्दै बुधबार संसद्मा समेत प्रश्न उठेको थियो । बुधबार संसद्मा माओवादी र कांग्रेस सांसदहरूले गभर्नर अधिकारीबारे प्रश्न उठाएका थिए ।