काठमाडौं ।
नेपाली कांग्रेसका केन्द्रीय सदस्य प्रकाशमान सिंहले पार्टी सभापति शेरबहादुर देउवा नेतृत्वको सरकारको आलोचना गरेका छन्।
पार्टी केन्द्रीय कार्यालय सानेपामा जारी केन्द्रीय समिति बैठकमा बुधबार बोल्दै सिंहले देउवा सरकार गठन भएको एक वर्ष भइसक्दा पनि कुनै देखिने र सुनिने काम नगरेको बताए।
सरकारले देखिने र सुनिने कुनै कार्यक्रम नल्याएको भन्दै उनले मूल्यवृद्धि र जनजिविकाका अन्य सवालमा सरकारले ध्यानै नदिएको आरोप लगाए । बैठकमा सिंहले भने,‘चुनाव आउन लागिसक्यो। के भनेर जनतामा जाने हो ?’
सिंह कांग्रेसको १४ औं महाधिवेशनमा देउवाविरूद्ध सभापति लडेका थिए। दोस्रो चरणमा भने उनले देउवालाई सघाएका थिए। कांग्रेस केन्द्रीय समितिमा अहिले केन्द्रीय सदस्यहरूले बोल्ने क्रम जारी छ।
यस्तै नेपाली कांग्रेसको केन्द्रीय समिति बैठकमा नेता शेखर कोइरालाले पार्टीको आन्तरिक विषयदेखि सरकार सञ्चालनबारे आफ्ना १२ बुँदे धारणा राखेका छन्। जारी केन्द्रीय समिति बैठकमा बोल्दै उनले स्थानीय तहमा पार्टीको केही सिट बढे पनि उम्मेदवार छान्दा केन्द्रबाटै हस्तक्षेप भएकोमा विरोध गरेका छन्।
यस्तै प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सरकार गठन भएको एक वर्ष पुगेको छ । सो अवसरमा बालुवाटारले देउवा सरकारको ४२ उपलब्धी सार्वजनिक गरेको छ ।
बालुवाटारले पूर्ववर्ती केपी ओली नेतृत्वको सरकारले निम्त्याएको राजनीतिक अस्थिरता र कुशासनको अन्त्य गरी मुलुकलाई लोकतान्त्रिक विधि र पद्धतिमा अघि बढाउन सफल हुनलाई पहिलो उपलब्धि मानेको छ । देउवा सत्ता गठबन्धनमा रहेका काँग्रेस बाहेकका ४ दलको समर्थनमा गत वर्षको असार २९ मा प्रधानमन्त्री बनेका थिए ।