काठमाडौं ।
एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल र सम्मानित नेता झलनाथ खानालसँग नेपाल भ्रमणमा आएका चीनियाँ कम्युनिस्ट पार्टीका विदेश विभागका प्रमुख लिउ चियान छाओबीच भेटवार्ता भएको छ ।
नयाँ बानेश्वरस्थित एभरेष्ट होटलमा मंगलबार अपराह्न भेट भएको हो। लिउसँगको भेटमा नेपाल चीनको सम्बन्धलाई अझै बलियो बनाउने र पार्टी स्तरमा सम्बन्ध विस्तार गर्ने विषयमा छलफल भएको एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले बताएका छन्।
नेता नेपालका अनुसार चिनियाँ पक्षले पनि नेपाल र चीनको सम्बन्ध सुमधुर रहेको चर्चा गर्दै विभिन्न पार्टीहरूसँँगको सम्बन्ध बढाउन चाहेको बताएको छ।
‘नेपाल चीनको सम्बन्धलाई अझै बलियो बनाउन विषयमा छलफल भएको छ। चीनबाट नेपालले, नेपालबाट चीनले के सिक्ने भनेर पारस्पारिक कुराहरु भएका छन्,’ नेपालले भने, ‘त्यसका लागि पार्टीहरूका जनवर्गिय संगठनहरूबीच सम्पर्क होस्, विचार आदनप्रदान होस् भन्ने विषयमा छलफल भएको छ।’
त्यस्तै लिउले छिमेकी मुलुक नेपालबाट चीनको सुरक्षाबारे चासो राखेकोले आफूहरू चीन प्रतिको नीतिमा प्रतिबद्ध रहेको बताएको नेता नेपालले जानकारी दिएका छन्।
‘चीन पक्षले आफ्नो सुरक्षाको बारेमा चासो राखेको थियो। हामीले नेपालको चीनप्रतिको नीतिबारे प्रस्ट पार्यौं,’ नेता नेपालले भने, ‘नेपाल एक चीन नीतिमा प्रस्ट छ। नेपालको भूमिलाई चीनविरूद्ध प्रयोग गर्न दिइने छैन। तिब्बतको होस्, वा ताइवानको होस् नेपाल चीनको विषयमा हस्तक्षेप गर्दैन भनेर प्रस्ट पारेका छौं।’
नेता नेपालले, आफूहरूले चिनियाँ पक्षसँग नेपाल असंग्लन परराष्ट्र नीतिमा स्पष्ट रहेको बताउँदै सत्तामा हुँदा कुनै दलले सम्बन्ध बिगारे पनि आफूहरुले खबरदारी गरेको बताएका छन्।
चर्चामा रहेको वाम गठबन्धनको बारेमा चीनले कुनै कुरा नगरेको नेता नेपालले बताए। ‘वाम गठबन्धनको बारेमा कुनै छलफल भएन,’ उनले भने, ‘नेपाल एक भएको, पार्टीहरू एक होउन्, एकताबद्ध होस् भन्ने चाहेको। नेपाली एक भएको बारेमा चर्चा भयो।
विदेश विभागमा नयाँ नेतृत्व आएपछि नेपाललाई पहिलो देशको रुपमा रोजेको, नेपाललाई प्राथमिकता दिएको बताएकोले नेता नेपालले त्यस विषयलाई महत्वपूर्ण मान्नुपर्ने बताएका छन्।