Latest News

जनार्दन शर्मामाथि छानविन गर्न बनेको संसदीय समितिले गर्यो यस्तो निर्णय

Nepalese Times July 12, 2022 (2 Year ago)    451 Views

काठमाडौं ।

तत्कालिन अर्थमन्त्री जनार्दन शर्माबारे छानबिन गर्न प्रतिनिधिसभाले गठन गरेको संसदीय विशेष समितिले काम शुरु गरेको छ ।

समितिको मंगलबार बसेको बैठकले बजेट बनाउने क्रममा अनधिकृत मानिस प्रवेश गराई करका दर हेरफेर गरिएको आरोप सम्वन्धमा अर्थ मन्त्रालयबाट कागजात मगाउने निर्णय गरेको छ ।

समितिले हेरेफेर भएको भनिएको रातको सीसीटीभी फुटेज बिहीबार दिउँसो २ बजेभित्र उपलव्ध गराउन अर्थमन्त्रालयलाई निर्देशन समेत दिएको छ ।

ज्येष्ठ सदस्य लक्ष्मणलाल कर्णको अध्यक्षतामा संघीय संसद् सचिवालय सिंहदरबारमा बसेको बैठकले अर्थ मन्त्रालयलाई कागजात माग्न पत्र पठाउने निर्णय गरेको हो ।

समितिले कार्यविधि पारित गरेको छ । तर समितिको सभापतिमा भने सत्ता पक्ष र प्रतिपक्षको दाबी भएकाले मंगलबार निर्णय हुन सकेन । समिति सभापति सर्वसम्मतले चयन गर्ने भन्दै बुधबार फेरि बैठक बोलाइएको छ ।

जेठ १४ मा नयाँ आर्थिक वर्षको बजेटमा करका दर हेरफेर गर्ने क्रममा अनधिकृत व्यक्तिलाई अर्थ मन्त्रालय प्रवेश गराएको आरोप लागेको छ । छानबिन गर्न संसदीय समिति बनेपछि शर्माले पदबाट राजीनामा दिएका थिए ।

असार २२ गते गठित समितिमा ११ सदस्य छन् । उनीहरूलाई १० दिनभित्र छानबिन सकेर प्रतिवेदन बुझाउन भनिए पनि ६ दिनपछि मात्रै पहिलो बैठक बसेको हो ।

प्रतिक्रिया दिनुहोस