काठमाडौं ।
जनता समाजवादी पार्टी नेपालका संघीय परिषदका अध्यक्ष डा. बाबुराम भट्टराई पक्षको बैठक जडिबुटीमा सुरु भएको छ । बैठकमा जसपा कार्यकारिणी समितिका सदस्य महेन्द्र राय यादव मात्र देखिएका छन् ।
बाबुरामलाई साथ दिने भनिएको कार्यकारिणी सदस्य राजकिशोर यादव, रामनरेश राय यादव, अमृता अग्रहरी, रामबाबु यादवलगायतका कुनै पनि नेता बैठकमा आइपुगेका छैनन् ।
बैठकमा यादव पक्षका केही नेता तथा कार्यकर्ताबाहेक अधिकांश तत्कालीन नयाँ शक्तिमा आबद्ध नेता तथा कार्यकर्ताहरु छन् । बैठकमा मधेस प्रदेशका नेताहरु निकै कम देखिन्छन् ।
पार्टीभित्रको आन्तरिक विवाद समाधान हुन नसकेपछि भट्टराई पक्ष र उपेन्द्र यादव पक्षले छुट्टाछुट्टै विस्तारित बैठक बोलाएका हुन् ।यादव पक्षको बैठक बुधबारदेखि वीरगन्जमा हुँदै छ । भट्टराई पक्षको बैठक काठमाडौंको जडिबुटीस्थित एक पार्टी प्यालेसमा भइरहेको छ ।
तत्कालीन राजपाबाट पार्टी एकीकरण गरेपछि एक भएका यादव महन्थ ठाकुर नेतृत्वमा लोसपा विभाजन हुँदा उपेन्द्र यादवलाई साथ दिएका थिए । त्यसपछि सरकारमा कृषिमन्त्री बनेका थिए ।
अहिले पार्टीभित्रको अन्तरविरोध चर्केर विभाजनको डिलमा पुगेपछि यादवले भट्टराईलाई साथ दिएका हुन् । बैठकमा ३३० जना केन्द्रीय सदस्य सहभागी रहेको र केही संसद चलेको कारणले केही आउने क्रममा रहेको दाबी गरे ।
यस्तै निवर्तमान कृषि तथा पशुपन्छी विकास मन्त्री महेन्द्र राय यादवको सचिवालयले ‘मन्त्री क्वार्टरका सामान पूर्वमन्त्रीका घरमा’ समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।
उनका प्रेस सल्लाहकार सत्य प्रकाश यादवले एक विज्ञप्ति जारी गरी ‘मन्त्री क्वार्टरका सामान पूर्वमन्त्रीका घरमा’ समाचारप्रति आपत्ति जनाएका हुन् ।
यादवकाअनुसार उक्त समाचारमा निवर्तमान मन्त्री यादवले पुल्चोकस्थित मन्त्री निवास छाड्दा वासिङ्ग मेसिनलगायत अन्य सामानहरु लिएर गएको भनि तथ्यहिन र भ्रामक प्रचार गरिएको छ ।
असार २५ गते शनिबारका दिन निवासमा भौतिक व्यवस्थापनका सम्पुर्ण सामानहरु ठिक दुरुस्त भएकोले बुझ्ने बुझाउने काम संघीय सचिवालय निर्माण तथा व्यवस्थापन कार्यालयका कर्मचारीको रोहवरमा दुईतर्फि हस्ताक्षर भएको उनले बताएका छन् ।
उपेन्द्र यादव र बाबुराम भट्टराई दुवै पक्षले आफूले बोलाएको बैठक आधिकारिक भएको दाबी गरेका छन् । २०७६ वैशाख २३ मा तत्कालीन संघीय समाजवादी फोरम र नयाँ शक्ति पार्टी नेपालबीच एकता भई समाजवादी पार्टी बनेको थियो ।
समाजवादी पार्टी २०७७ वैशाख १० मा राष्ट्रिय जनता पार्टीसँग मिलेर जसपा बनेको थियो । नेतृत्व प्रणाली समानुपातिक हुन नसकेको, पार्टी विधानअनुरूप नचलेको, अध्यक्षको एकलौटी कार्यशैली कायम रहेको लगायत विषयमा भट्टराई र यावदबीच बढ्दै गएको मनमुटावले अहिले उत्कर्ष रूप लिएको हो ।