काठमाडौं ।
धोबीखोलामा फोहोर फाल्नेलाई काठमाडौं महानरपालिकाले जरिवाना तिराएको छ ।
सामाजिक सञ्जालमा धोबीखोलामा फोहोर फालिरहेको भिडियो र फोटो भाइरल भएसँगै काठमडौं महानगरपालिकाले जरिवाना स्वरुप २५ हजार रुपैयाँ तिराएको हो ।
काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले एक स्टाटस पोष्ट गर्दै प्राक्टिकल बेष्ट सोलुसन प्रालिको नाममा २५ हजार रुपैयाँको रसिद काटिएको जानकारी गराएका हुन् ।
कुनै पनि अवाञ्छित कार्यहरु कसैले पनि नगर्न र कसैले गरेमा त्यसप्रति सबै चनाखो रहन जरुरी रहेको भन्दै मेयर बालेनले यस्ता कार्यहरु सार्वजनिक गरेर महानगरसम्म पुर्याइदिनसमेत आग्रह गरेका छन् । आगामी दिनहरुमा यस्ता कार्य नदोहोर्याउन र गरेको देखेमा यसरी नै सार्वजनिक ध्यानाकर्षणमा ल्याइदिनसमेत उनले आग्रह गरेका छन् ।
यस्तै काठमाडौँ महानगरका प्रमुख शाहले ल्याण्डफिल साइट पुग्ने सडक निर्माणका लागि सडक विभागसँग समन्वय भइरहेको बताएका छन्।आज काठमाडौँ उपत्यकाको फोहोर व्यवस्थापनमा काम गर्ने निजी तथा गैरसरकारी संघ संस्थाका प्रतिनिधिसँगको भेटमा उनले यस्तो बताएका हुन्।
भेटका क्रममा प्रतिनिधिहरुले बर्खामा हुने सडक समस्याको कुरा उठाएपछि प्रमुख शाहले निर्माण हुन बाँकी रहेको सडक खण्ड चाँडै बनाइसक्न आफूले समन्वय गरिरहेको बताए।
‘काठमाडौँका सडकमा भएको सबै फोहोर उठाउन तपाईँहरुलाई कति समय लाग्छ’, छलफलका क्रममा प्रमुख शाहले प्रश्न गरेका थिए।उत्तरमा प्रतिनिधिहरुले पूर्ण क्षमतामा ढुवानी गर्न पाए ३ दिनभित्र फोहोर उठाइसक्ने बताएका थिए।
भेटमा फोहोरमैला व्यवस्थापन संघ, नेपाल ९स्वमान० का महासचिव मीत्र घिमिरे र वातावरण संरक्षण गैसस महासंघका अध्यक्ष टीकाराम दाहालले फोहोर वर्गीकरण गर्ने महानगरको योजनालाई प्रशंसा गरे।
‘महानगरको नीति र कार्यक्रमअनुसार हामीले पूरा गर्नुपर्ने दायित्व पूरा गर्न प्रतिबद्ध छौँ’, उनीहरुले भने। छलफलका क्रममा फोहोर ढुवानी गर्ने सवारी साधनबाट लिचेड चुहिने समस्या समाधान गर्ने विषय पनि उठेको थियो।
‘हामी प्रतिवद्ध भएर सुधारका काम गछौँ तर केही थप समय लाग्न सक्छौँ’, प्रतिनिधिहरुले भने। भेटका क्रममा फोहोरमैला संकलन, ढुवानी र अन्तिम व्यवस्थापनमा काम गर्ने निजी तथा गैरसरकारी संघ संस्थाका प्रतिनिधिको उपस्थिति थियो।