काठमाडौं ।
नेपाली कांग्रेसको पार्टी केन्द्रीय कार्यलय सानेपामा केन्द्रीय कार्य समिति बैठक सुरू भएको छ ।
सानेपास्थित केन्द्रीय कार्यालयमा विभिन्न १३ भ्रातृ तथा शुभेच्छुक संस्थाबारे छलफल हुने बताइएको छ । त्यस्तै मान्यता दिने प्रस्ताव पेस हुनेछ ।आइतबार बसेको पदाधिकारी बैठकले दुई वटा भ्रातृ संस्था र नौ वटा शुभेच्छुक संस्था थप गर्ने प्रस्ताव अगाडि बढाएको थियो ।
केन्द्रीय समिति बैठक बसिरहेको बेला पार्टी कार्यालय बाहिर भने शेखर कोइराला पक्षधर कांग्रेस कार्यकर्ताले विरोध प्रदर्शन जनाईरहेका छन् ।
प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा आफ्नो पार्टी कार्यालय सानेपा प्रवेश गर्न खोज्दा आफ्नै कार्यकर्ताले नाराबाजी सुरु गरेका थिए । नाराबाजी अहिले पनि चलिरहेको छ ।
सोमबार दिउँसो केन्द्रीय समिति बैठकका लागि पार्टी कार्यालय प्रवेश गर्न लाग्दा नेता शेखर कोइराला पक्षका विद्यार्थी र युवाले प्रदर्शन गरेका हुन् ।
उनीहरुले भ्रातृ संस्थाको केन्द्रीय समितिलाई पूर्णता दिनुपर्ने माग गर्दै प्रदर्शन गरेका हुन् । प्रदर्शन नियन्त्रणका लागि कांग्रेस पार्टी कार्यालयमा ठूलो संख्यामा प्रहरी परिचालन गरिएको छ ।
चुनाव भएको करिब दुई महिना हुन लाग्दा कांग्रेसले बल्ल केन्द्रीय समितिमा चुनावी समीक्षा गर्न आजका लागि बैठक डाकेको छ । यसअघि उपसभापति पूर्णबहादुर खड्का नेतृत्वमा रहेको निर्वाचनसम्बन्धी समिति र उक्त समितिअन्तर्गत केन्द्रीय सदस्य प्रदीप पौडेल नेतृत्वमा रहेको उपसमितिले स्थानीय तह चुनावको समीक्षा गरेको थियो।
कांग्रेसले ७५३ पालिकामध्ये ३२९ पालिका प्रमुख जितेको थियो। गठबन्धन गरेका र एक्लै जितेका ठाउँ र मतबारे विश्लेषणसहित प्रतिवेदन पनि कांग्रेसले तयार पारेको छ।
चुनावी समीक्षाबाहेक केन्द्रीय समिति बैठकमा कोषाध्यक्ष चयन गरिनुपर्ने, संसदीय समिति, कार्यसम्पादन समितिलाई पूर्णता दिनुपर्ने र विभागहरू तथा समितिहरू गठन गरिनुपर्ने एजेन्डा पनि प्रवेश हुने एक केन्द्रीय सदस्यले बताए। सभापति शेरबहादुर देउवाले छ महिनाभित्र गरिसक्नुपर्ने मनोनीत काम अहिलेसम्म गरेका छैनन्। २० जना केन्द्रीय सदस्य मनोनीत गर्न बाँकी छ।