काठमाडौं।
नेकपा माओवादी केन्द्रको केन्द्रीय समिति बैठक आजलाई सकिएको छ । भोलि पुनः ११ बजे बस्ने गरी सकिएको जनाइएको छ । नेकपा माओवादी केन्द्रका नेता तथा शिक्षा मन्त्री देवेन्द्र पौडेल सुनिलले बाबुराम भट्टराईलाई माओवादीमा ल्याउन छलफल भइरहेको बताएका छन्।
जसपा संघीय परिषद अध्यक्ष भट्टराई र केन्द्रीय परिषद अध्यक्ष उपेन्द्र यादवबीच सहमतिमै पार्टीबाट अलग हुने सहमति भएको थियो। त्यसपछि माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग पनि भट्टराईले भेटवार्ता गरेका थिए।
आइतबार कमलादीमा बसेको माओवादी केन्द्रीय समिति बैठकमा भाग लिई बाहिरिने क्रममा पत्रकारहरूको प्रश्नको जवाफ दिँदै मन्त्री पौडेलले बाबुरामलाई माओवादीमा ल्याउन कुराकानी भइरहेको बताए।
‘बाबुराम भट्टराईलाई माओवादीमै फिर्ता हुन म सार्वजनिक रूपमा आह्वान गर्न चाहन्छु,’ उनले भने, ‘उहाँ माओवादीमा फर्कने सम्भावना छ। कुराकानी पनि भइरहेका छन्।’ उनले वामपन्थीहरू एक हुने भए समाजवादी केन्द्र बनाउन सकिने पनि बताएका थिए।
‘बाबुराम भट्टराई जनयुद्धदेखि लाग्नुभएको हो। उहाँ माओवादीमै लाग्नुभयो भने नेता तथा कार्यकर्ता खुसी हुन्छन्,’ उनले भने, ‘मैले योभन्दा अर्को विकल्प देख्दनँ।’
‘समाजवादी केन्द्र पनि राम्रो हो। माओवादी मात्रै हुनुपर्छ भन्ने शब्दमा हामी खेल्न चाहन्नौं,’ उनले भने, ‘यो चुनावअघि नै वामपन्थीहरू एक हुने सम्भावना छ। माओवादीमात्र एक हुने होइन, वामपन्थीहरू नै एक हुनुपर्दछ।’
उनले हिजोका माओवादीहरू मुलभूत रूपमा अब एक हुनेतर्फ अघि बढेको पनि बताए। माओवादी र बाहिर रहेका कम्युनिष्ट घटकलाई वामपन्थी मोर्चामा अघि बढाएर नेतृत्व गर्नुपर्ने बेला आएको बताए।
माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले वाम गठबन्धन र एकताको विकल्प नभएको बताएका छन्।प्रज्ञा भवन कमलादीमा आइतवारदेखि सुरु केन्द्रीय समिति बैठकमा बोल्दै उनले यस्तो बताएका हुन्।
प्रदेश समितिबाट रिपोर्टिङ भइसकेपछि बैठकमा सहभागी केन्द्रीय सदस्यहरुलाई सम्बोधनका क्रममा अध्यक्ष प्रचण्डले वाम ध्रुवीकरण र एकताका लागि आउने क्रम अहिले पनि चलिरहेको बताएका छन्।
तत्कालीन नेकपा अहिले तीनवटा ध्रुवमा पुगेको बताउँदै उनले त्यसबाट निस्किएर आफूहरु आठौं राष्ट्रिय महाधिवेशनदेखि यहाँसम्म आइपुगेको पनि बताए।
‘सदस्य नवीकरण हुँदै राष्ट्रिय महाधिवेशनसम्म पुग्यौं’, प्रदेश समिति अध्यक्षहरूका प्रश्नको जवाफका क्रममा उनले भने, ‘केन्द्रीय समितिले निचोड राख्दै गर्दा विधानको व्यवस्थाअनुसार अघि बढ्न भनिएको छ।’
उनले अहिले पनि एकता र ध्रुवीकरणको प्रक्रियामा आउनेहरुको लागि पार्टीले अभियान चलाइरहेको पनि बताए। ‘नेपालमा माओवादी आन्दोलन र माओवादी पार्टी एकता प्रक्रियामा जानैपर्ने छ’, उनले भने, ‘अझ संस्थागत रुपमा माओवादी अगाडि बढ्ने क्रम बढेको छ। हिजोको माओवादी एकीकृत हुने सम्भावना बढेको छ। हामीले ठूलै कोसिस गर्यौँ। माओवादीमा देखा परेका विचलन हल गर्ने मात्र नभइ माओवादी धारा एक हुने क्रम अहिले पनि छ।’