Latest News

सकियो माओवादीको केन्द्रीय समिति बैठक, आज के- के भयो छलफल ?

Nepalese Times July 3, 2022 (2 Year ago)    559 Views

काठमाडौं । नेकपा माओवादी केन्द्रको केन्द्रीय समिति बैठक आजलाई सकिएको छ । भोलि पुनः ११ बजे बस्ने गरी सकिएको जनाइएको छ । आजको बैठकमा सहिदहरूलाई श्रद्धाञ्जली अर्पण, थपिएका केन्द्रीय कमिटी सदस्यहरूको शपथ ग्रहण सम्पन्न भएका छन्।

यस्तै अर्को प्रस्तावित कार्यसूचीअनुसार प्रदेश समितिका अध्यक्ष तथा इन्चार्जहरूले प्रदेशको रिपोर्ट प्रस्तुत गर्ने क्रम सुरु भएको छ ।

आज बागमती प्रदेशका अध्यक्ष सरल सहयात्री र उपत्यका विशेष प्रदेशका अध्यक्ष जगत सिम्खडाले आफ्नो प्रदेशका रिपोर्टहरू प्रस्तुत गरेका छन् । भोलिको बैठकमा अन्य प्रदेशहरूको रिपोर्ट प्रस्तुत गरिने जनाइएको छ ।

त्यस्तै आजको बैठकमा फेरि कम्युनिस्ट पार्टीहरूबीच एकताको विषयले प्रवेश पाएको छ । केन्द्रीय समिति बैठकमा अध्यक्ष प्रचण्डले फेरि कम्युनिस्ट पार्टीहरूबीच एकताको आवश्यकता औँल्याउँदै सदस्यहरुको राय समेत माग गरेको एक नेताले बताए ।

उनले आइतबार बिहानमात्रै आफ्नो तत्कालीन नेकपाका केन्द्रीय सचिवालयमा रहेका नेताहरुसँग अनौपचारिक छलफल भएको भन्दै आजै भ्याएसम्म तत्कालीन सचिवालयमा रहेका बहुमत सदस्यहरुको बैठक बस्ने तयारी भएको बैठकमा बताएको ती नेताको भनाइ छ । बैठक बसेर एकताका लागि आह्वान गर्ने योजना रहेको प्रचण्डले बैठकमा सुनाए ।

वर्तमान सरकारमा काँग्रेससहितको गठबन्धन सरकार भएको सन्दर्भमा प्रचण्डले कम्युनिस्ट एकतामै जोड दिएका हुन् । ‘फेरि नयाँ तरिकाले कम्युनिस्ट एकता गर्न सकिन्छ । नेकपाका तत्कालीन सचिवालयका नेताहरुसँग कुरा भएको छ’ उनले भने, ‘आज बिहानमात्रै पनि छलफल भएको थियो । यो बैठक आज छिट्टै सकियो भने सचिवालयको बहुमतको बैठक बस्नुपर्यो भनेर साथीहरुले भन्नु भएको छ । अपिल गर्नुपर्यो भनेर भन्नु भएको छ ।’

विस्तारै फेरि वामपन्थी एकताको सम्भावना पैदा भएको उनको भनाइ छ । उनले कम्युनिस्ट एकताबारे सोमबारको बैठकमा धारणा राख्न पनि सदस्यहरुलाई आग्रह गरेको ती नेताको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस