Latest News

सडकमा मकै बेच्ने दम्पतीलाई कांग्रेसका यी नेताले गरे आर्थिक सहयोग, चौतर्फी प्रशंसा

Nepalese Times July 3, 2022 (2 Year ago)    645 Views

काठमाडौं । कांग्रेस नेता मोहनबहादुर बस्नेतले काठमाडौंको बालुवाटारमा हरियो मकै पोलेर बिक्री गर्ने क्रममा काठमाडौं महानगरले गाडा उठाएका दम्पतीलाई आर्थिक सहयोग गरेका छन् ।

सिन्धुपाल्चोक मेलम्ची–१० का चेतेन्द्र आचार्य दम्पतीलाई आइतबार बस्तेतसहित कांग्रेस सिन्धुपाल्चोकका दुई नेताले ५१ हजार रुपैयाँ सहयोग गरेका हुन् ।

महानगरपालिकाले गाडा खोसेपछि भाडा तिर्न र बालबच्चा पढाउन समस्या भएको थाहा पाएपछि सहयोग गरेको बस्नेतले बताए । उनले सवारीसाधानको आवतजावत र सर्वसाधारणको आवातजावतमा समस्या नहुने गरि व्यवसाय गर्न सुझाव दिए ।

त्यस्तै चेतेन्द्र आचार्यले कसैलाई बाधा नपर्ने स्थानमा व्यापार गर्दा आफ्नो गाडा उठाइएको गुनासो गरेका छन् । प्रधानमन्त्री निवास बालुवाटारबाट दुई सय मिटर उत्तरको चोकस्थित सडक किनारमा मकै पोल्न लाग्दा महानगरले उनीहरुको गाडा जफत गरेको भिडियो सामाजिक सञ्जालमा भाइरल भएको थियो ।

यस्तै काठमाडौं महानगरपालिकाले महाराजगञ्ज र बालुवाटार क्षेत्रका फुटपाथमा मकै बेच्ने चेतेन्द्र आचार्य र सीता आचार्यको दम्पत्तिमाथि थप कारवाही गर्ने भएको छ ।

नगरप्रहरीले कारवाही गर्दा प्रतिवाद गरेका दम्पतीमाथि थप कारवाही गर्न लागिएको महानगरपालिकाले जनाएको छ । मकै बेच्दै गर्दा शुक्रबार काठमाडौं महानगरपालिकाको नगर प्रहरीले लछारपछार गर्दै ठेला लगेको भिडियोले सामाजिक सञ्जालमा अहिले चर्चा पाएको छ ।

उनीहरुले नगर प्रहरीले घुस मागेको आरोप लगाएपछि महानगरपालिकाले यसअघि सीता आचार्यले नगर प्रहरीमाथि गरेको व्यवहारलाई कारण देखाएर थप कारवाही गर्न लागेको हो ।

ड्युटीमा रहेको नगर प्रहरीलाई अगुल्टो हानेको र हातापात गरेकाले थप कारवाही गर्न प्रक्रिया सुरु भएको महानगर प्रहरी प्रमुख धनपति सापकोटाले बताएका छन् ।

घुस माग्न गएका नगर प्रहरीलाई बुधबार अगुल्टोले हानेको आचार्य दम्पत्तीले पनि स्वीकारेका छन् । सरकारी कर्मचारीलाई दोबाटोमा हातपात भएको छ भन्दै उनले भने, ‘कारबाही नगरेर नमस्कार गर्नु त ?’ नगर प्रहरी प्रमुख सापकोटाले प्रश्न गरे,’आवश्यक कारवाही हुन्छ । प्रक्रिया सुरु भइसकेको छ । कारबाही के हुन्छ भन्ने विषयमा भएपछि मात्रै भनौंला ।’

कारवाही के गर्ने भने नखुलाए पनि यत्तिकै छोड्न नमिल्ने नगर प्ररही प्रमुख सापकोटाले तर्क गरे । जनपथ प्रहरीमार्फत उनीहरुमाथि अभद्र व्यवहारको मुद्दा चलाउने महानगर प्रहरीको संकेत छ ।

प्रतिक्रिया दिनुहोस