काठमाडौं । सिन्धुपाल्चोक मेलम्ची–१० का चेतेन्द्र आचार्य र उनकी पत्नी सीताको मकैको ठेला काठमाडौं महानगरपालिकाका नगर प्रहरीले उठाएपछि मेयर बालेन साह पनि आलोचित बने ।
पछि तिलक बस्नेतले उनीहरुको ठेला फिर्ता गर्न सहजिकरण गरिदिएका थिए । चेतेन्द्र आचार्य दम्पत्तीको मकैको ठेला नगर प्रहरीले उठाएको भिडिओ भाइरल भएसँगै काठमाडौं महानगरपालिकाका मेयर बालेन साहले यसबारे जवाफ दिनुपर्ने आवाज उठेको थियो
उनै मेयर बालेनले काठमाडौं महानगरपालिकाले सडक गल्लीमा थुप्रिएको फोहोर केही समय टेकु ट्रान्सफर स्टेसनमा छोपेर राख्न निर्देशन दिएका छन् । सबै वडालाई नियमित रुपमा फोहोर संकलन गरी टेकु ट्रान्सफर स्टेसनमा राख्न उनले निर्देशन दिएका हुन् ।
वातावरण व्यवस्थापन विभागले नियमित फोहोर संकलन गरी ट्रान्सफर स्टेशनमा ल्याउने व्यवस्था गरिसकेको छ । विभागका एक अधिकारीका अनुसार लगातार फोहोर आउने क्रमसंगै छोप्ने काम शुरु गरिनेछ ।
फोहोरलाई छोपेर राख्ने विषयमा कसैलाई जानकारी नदिएको बताउँदै ती कर्मचारीले भने– ‘एक सातादेखि ल्यान्डफिल साइटमा फोहोर नगएपछि मेयर साहले गोप्य रुपमा फोहोरलाई छोप्न निर्देशन दिनुभएको हो ।’ उनका अनुसार फोहोरलाई गन्ध नआउने केमिकल प्रयोग गरी ट्रान्सफर स्टेशनमा राखिने र ल्यान्डफिल साइट जाने बाटो खुल्नासाथ ट्रान्सफर स्टेशनबाट बञ्चरेडाँडा ल्यान्डफिल साइट लैजाने तयारी भएको छ ।
कामपा वातावरण व्यवस्थापन विभागले गन्ध नआउने केमिकल र फोहोर छोप्न प्रयोग हुन प्लास्टिक खरिद गर्ने तयारी गरेको छ । स्रोतका अनुसार मेयर साहले फोहोर छोप्न सामान खरिद प्रक्रिया अघि बढाइसक्नुभएको छ ।विभागका नगर प्रहरी पुर्णचन्द्र भट्टले स्थानीयको अवरोधको कारण नभई बाटो बिग्रिएकोले फोहोर व्यवस्थापन कठिनाई भएको बताए । बाटो बिग्रेको कारण ६ दिनदेखि राजधानीको फोहोर सडकमै थुप्रिएको छ । घाम लागेको दिन एक दुई ट्रीप मात्र फोहोर लैजाने गरिएको छ ।
सडक विभागले केही दिन अझै बाटो बनाउन समय लाग्ने जनाएपछि ट्रान्सफर स्टेशनमा गन्धरहित गरेर फोहोर व्यवस्थापन शुरु गर्न लागिएको हो । विभागले केमिकल हालेर फोहोर छोेपेपछि दुर्गन्ध शुन्य हुने महानगरको भनाई छ ।
झण्डै एक सातादेखि फोहोर उठ्न नसक्दा सडकभरी फोहोर थुप्रिएको छ । टेकु ट्रान्सफर स्टेशनमा ४ सय ट्रिपभन्दा बढी फोहोर थुप्रिएको छ । कामपाले लगातार फोहोर संकलन गर्दै टेकु ट्रान्सफर स्टेशन लैजाने र त्यहाँबाट सिसडोल पु¥याउने गरी धमाधम काम भैरहेको जनाएको छ ।
बञ्चरेडाँडा ल्याण्डफिल साइटमा फोहोर व्यवस्थापन गर्न समस्या देखिएपछि १७ मध्ये करिब आधा दर्जन स्थानीय निकायले आफ्नो क्षेत्रमा अल्पकालिन रुपमा फोहोर व्यवस्थापन गरिरहेको छ ।
कामपामा मात्र दैनिक १ हजार १ सय टन फोहोर उत्पादन हुने गर्दछ ।बञ्चरेडाँडा ल्याण्डफिल साइट नजिक सिसडोल ल्याण्डफिल साइटको क्षेत्रमा फोहोर माथिको बाटो भासिएको कारण फोहोर उठन नसकेको हो । वर्षा नभए बाटो बनाउन करिब एक साता लाग्ने बताइएको छ ।
उता स्थानीयले सरकारले आफ्ना मागको सुनुवाई नगरेको भन्दै भदौ १ गतेदखि कडा आन्दोलन गर्ने तयारी थालेका छन् । संघर्ष समितिका संयोजक श्रीराम ढुंगानाले माग पुरा नभए भदौबाट कडा आन्दोलन गर्ने तयारी भइरहेको बताए ।
सम्झौता अनुसार कामपाले एक महिनाभित्र गाडीबाट फोहोरमैलाको फोहोर पानी (लिचेड) नबग्नेगरी फोहोर ढुवानी गर्न सवारी साधन व्यवस्था गर्ने, ३ महिनाभित्र पुर्वाधारअन्तर्गत सडक र बत्तीको व्यवस्थापन गर्ने, दुई महिनामा लिचेडको वैज्ञानिक व्यवस्थापन गर्ने, ३ महिनाभित्र बञ्चरेडाँडा वरपरका घरटहरा क्षतिपूर्तिसम्बन्धी निर्णय गर्नुपर्नेछ । सम्झौताअनुसार बैज्ञानिक अध्ययनका आधारमा प्रभावित क्षेत्र छुट्याउने, यसका आधारमा अधिग्रहण, मुआब्जा वितरणलगायतका काममा महानगरले सम्बन्धित मन्त्रालयमा पहल गर्नुपर्नेछ । नेपाल समाचारपत्रबाट