काठमाडौं ।
सांसदको स्वतन्त्र उम्मेदवार बन्न स्नातक तह उत्तिर्ण हुनुपर्ने मापदण्ड अघि सारिएको छ । शनिबार बसेको ‘स्वतन्त्र उम्मेदवारी अभियान’को विशेष भेलाले यस्तो मापदण्ड अघि सारेको हो ।
ललितपुरको सानेपास्थित हेरिटेज गार्डेनमा शनिबार सुरु भएको भेलाले आगामी संसदीय निर्वाचनका लागि मापदण्ड र रणनीति तय गर्नेगरी छलफल थालेको हो ।
भेलाले संसदीय तथा प्रदेश चुनावमा उम्मेदवार हुनका लागि स्नातक तह पास भएको र ६८ वर्ष नाघेको हुनुपर्ने मापदण्ड तय गरेको छ ।
यस्तै, प्रत्यक्षतर्फ निर्वाचन लड्ने स्वतन्त्र व्यक्तिले चुनाव लड्ने घोषणा गरेकै दिन आफ्नो सम्पत्ति विवरण सार्वजनिक गर्नुपर्ने पनि मापदण्डमा उल्लेख छ ।
साथै, सांसदको उम्मेदवार बन्न चाहने व्यक्तिको चरित्र स्वच्छ हुनुपर्ने, उसमाथि कुनैपनि चारित्रिक दाग लागेको हुनु नहुने र उम्मेदवारी घोषणा गरेकै दिन पुलिस रिपोर्टसमेत सार्वजनिक गरिएको हुनुपर्ने मापदण्ड तय गरिएको छ ।
यस्तै, स्वतन्त्र उम्मेदवार बन्ने व्यक्ति राज्यको नीति निर्माण गर्ने थलोमा स्वार्थ बाझिनेखालको हुन नहुने पनि मापदण्डमा उल्लेख छ ।
‘निजी व्यवसायी, व्यापारी एवं ठेकेदारहरु नै सांसद, मन्त्री वा संसदीय समितिका सभापति बन्ने परिपाटीको अन्त्य गरिनुपर्दछ,’ मापदण्डमा भनिएको छ ।
‘विदेशमा ग्रिनकार्ड वा पीआर लिएका व्यक्तिलाई स्वतन्त्र उम्मेदवारका रुपमा मतदान गर्न वा स्वतन्त्र उम्मेदवार मान्न सकिनेछैन ।’ मापदण्डमा भनिएको छ ।