काठमाडौं । नेकपा एमाले उपाध्यक्ष सुवास नेम्बाङले आगामी नोभेम्बरमा हुने कतार फिफा विश्वकप अर्जेन्टिनाले जित्ने विश्वास गरेका छन् । एमाले संसदीय दलका उपनेता समेत रहनुभएका नेम्वाङले आज यस्तो बताएसँगै चर्को आलोचना गरेका छन् ।
उपाध्यक्ष नेम्बाङले आफू अर्जेन्टिनी स्टार खेलाडी लियोनल मेस्सीका समर्थक रहेकोसमेत भनेका छन् । शुक्रबार नेपाल ल क्याम्पसको स्थापना दिवसको अवसरमा नेम्बाङले आफू मेस्सी र अर्जेन्टिनाको शुभचिन्तक रहेको बताए । उनले अर्जेन्टिनाले विश्वकप जित्नेमा आफू विश्वस्त रहेकोसमेत बताए ।
उनले भने, ‘यो वर्ष अर्जेन्टिनाले, मेस्सी विश्व फुटबल जित्छन् भन्ने मलाई विश्वास छ ।’ यस्तै उनले विश्वकप आफ्नो घरमा या सकेसम्म कतारमै पुगेर हेर्न सुझाए ।
उनले भने, ‘कतारमा चार महिना पछि हुने फुटबल तपाई हामी, आ–आफ्नो घरमा बसेर होस् या यहि बसेर होस् । सकिएछ भने कतार पुगेर होस्, हेरौला ।’
यस्तै उनले आफु अहिले खेल्ने अवस्थामा नरहेपनि राति उठेर युरोपेली लिग हेर्दै आएको बताउँदै हाल मेस्सी बार्सिलोना छोडेर फ्रेन्च क्लब पेरिस सेन्ड जर्मेन पीएसजी गएकाले बार्सिलोना भन्दा पीएसजीको खेल हेर्न थालेको प्रतिक्रिया दिए । ‘आजकाल आफै खेल्न नसक्ने भएपनि १२–१ बजे फुटबल हेर्छु । इंग्लिस प्रिमियर लिग, ला लिगा,’ उनले भने ।
‘मेरो आचकाल सारै मन पर्ने खेलाडी पीएसजी गयो । पीएसजी पुगेको हुँनाले बार्सिलोनाको हेर्न छोडेको छु । अर्जेन्टिना र पीएसजीको खेल हेर्छु,’ नेम्वाङको भनाई थियो । कतारमा आगामी नोभेम्बरमा हुने विश्वकपका लागि ३२ देशले छनोट पार गरिसकेका छन् ।
अर्जेन्टिना भने दक्षिण अमेरिकाबाट दोस्रो स्थानमा रहँदै विश्वकपमा स्थान बनायो । यता, एसियाबाट ६ टिम सहभागी छन् । यस्तै, नेपाल भने दोस्रो चरणबाट माथि बढ्न सकेन ।