Latest News

जसपाबाट नयाँ बन्ने मन्त्रीहरुको लिस्ट बाहिरियो, प्रदीप यादवसहित को-को छन् ?

Nepalese Times July 1, 2022 (2 Year ago)    610 Views

काठमाडौं । जनता समाजवादी पार्टी नेपालले सङ्घीय सरकारमा सहभागी आफ्ना मन्त्रीहरुलाई फिर्ता बोलाउने निर्णय गरेसँगै नयाँ मन्त्री क–कसलाई पठाउने भन्नेबारे गृहकार्य पनि सुरु गरेको छ ।

सरकारमा सहभागी जसपाका चारैजना मन्त्रीलाई फिर्ता बोलाउने निर्णयसँगै पार्टीको तर्फबाट को नयाँ मन्त्री बन्ने हुन् भन्ने आम चासो रहेको छ ।

जसपा अध्यक्ष उपेन्द्र यादवले पनि नयाँ मन्त्रीको नाम टुङ्गो लगाउने गृहकार्य गरिरहेका छन् । मन्त्रीका आकांक्षीले पार्टी अध्यक्षलाई फकाउन दौडधुप सुरु गरिसकेका छन् ।

जसपाबाट सरकारमा सहभागी हुनलागेका सम्भावित मन्त्रीहरुको नाम लिस्ट बाहिरिएको छ । नयाँ मन्त्रीहरुको सूचीमा पर्सा निर्वाचन क्षेत्र नम्बर १ का प्रतिनिधिसभा सदस्य (सांसद्) प्रदीप यादवको नाम पनि रहेको छ ।

स्रोतका अनुसार अध्यक्ष यादवले सांसद् प्रदीप यादवलाई यस पटक मन्त्री बनाउने निर्णय गरिसकेका छन् । आज साँझ अथवा भोली बिहानसम्म यादवले प्रधानमन्त्री शेरबहादुर देउवालाई नयाँ मन्त्रीहरुको सूची हस्तान्तरण गर्न तयारी गरिरहेको बुझिएको छ ।

मन्त्री बन्ने अन्य सम्भावितमा व्यक्तिमा सर्लाही क्षेत्र नम्बर १ का प्रतिनिधीसभा सदस्य प्रमोद साह, सप्तरीका राष्ट्रियसभा सदस्य मृगेन्द्र सिंह यादव र बाँके क्षेत्र नम्बर २ का प्रतिनिधीसभा सदस्य महम्मद इस्तियाक राइ रहेका छन् ।

हाल जसपाबाट सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्री राजेन्द्रप्रसाद श्रेष्ठ, भौतिक पूर्वाधार तथा यातायात मन्त्री रेणुकुमारी यादव, वन मन्त्री रामसहायप्रसाद यादव र कृषि तथा पशुपंक्षि विकास मन्त्री महिन्द्र राय यादव मन्त्री रहेका छन् ।

नेकपा एकीकृत समाजवादीले आफ्ना मन्त्रीहरु फिर्ता बोलाएपछि जसपामाथि पनि मन्त्रीहरु फिर्ता बोलाएर नयाँ पठाउने दवाव बढ्दै गएको थियो ।

जसपाका अध्यक्ष उपेन्द्र यादव र सङ्घीय अध्यक्ष डा. बाबुराम भट्टाराई अलग हुने निश्चित जस्तो भएको बेला जसपाले मन्त्री फिर्ता बोलाउँदा राजितीले नयाँ मोड लिएको छ । जसपा विवादका कारण पार्टीले मन्त्री फिर्ता बोलाउने कार्यलाई पछि सारेको चर्चा चलेको थियो ।

 

प्रतिक्रिया दिनुहोस