काठमाडौं ।
रवि लामिछानेले नेतृत्व गर्ने राष्ट्रिय स्वतन्त्र पार्टी निर्वाचन आयोगमा दर्ता भएको छ । पार्टीको नामलाई लिएर उत्पन्न विवाद किनारा लगाउँदै आयोगले सोही नामलाई मान्यता दिएको हो ।
प्रस्तावित चुनाव चिन्ह घण्टीलाई पनि आयोगले आधिकारिकता दिएको पार्टीका प्रवक्ता मुकुल ढकालले बताए ।
यो चुनाव चिन्ह अरु पार्टीले नपाएकाले आयोगले स्वीकार गरेको छ । केही स्वतन्त्र उम्मेदवारहरुले रविको पार्टीको नामले आफूहरुलाई अप्ठेरो पर्ने भन्दै आयोगमा उजुरी दिएका थिए ।
यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीले झण्डा परिवर्तन गर्ने भएको छ । संचारकर्म छाडेर राजनीतिमा होमिएका रवि लामिछाने सभापति रहेको पार्टीको झण्डा युरोपियन युनियनको झण्डासँग हुबहु मिलेको भन्दै यसअघि आलोचना भएको थियो ।
केहीले कतै युरोपेली युनियनकै डिजाइन र लगानीमा पार्टी गठन भएको हो कि भन्ने आशंकासमेत गरेका थिए । युरोपेली युनियनको झण्डामा निलो पृष्ठभूमीमा १२ राष्ट्रको प्रतिनिधित्व हुने गरि गोलवद्ध १२ वटा सुनौलो रंगका ताराहरु रहेका छन् ।
राष्ट्रिय स्वतन्त्र पार्टीको झण्डाको पृष्ठभूमी भने निलो र हरियोको मिश्रित रंगको छ । यसमा नेपालको सात प्रदेश झल्किने गरि सातवटा सेतो रंगका ताराहरु अंकित छन् ।
झट्ट हेर्दा युरोपेली युनियन र राष्ट्रिय स्वतन्त्र पार्टीको झण्डा उस्तै देखिएको भन्दै मानिसहरुले आलोचना र आशंका गरिरहेका थिए ।
चौतर्फी आलोचनाका कारण पार्टीको झण्डामा रहेको ७ वटा ताराहरु हटाउन लागिएको राष्ट्रिय स्वतन्त्र पार्टीका एक नेताले नेप्लिज टाइम्सलाई बताए ।
नेपाली पन र नेपाली माटो सुहाउँदो वादलाई लिएर आफूहरुको राजनीतिक यात्रा सुरु भएकोले ७ वटा तारा राख्नुमा वैज्ञानिक कारण भएको तर आलोचना भएपछि त्यसलाई हटाउने तयारी भएको उनले बताए ।
यस्तै उनले निर्वाचन आयोगलेसमेत झण्डामा रहेको ७ वटा तारा हटाउन सुझाव आएकोले आफूहरुले त्यसलाई हटाएर बीचमा घण्टी चिन्ह राखेर नयाँ झण्डा बनाउन खोजिएको बताए ।