Latest News

यी दुई जिल्लाका सिडिओ फेरिए, क–कसले पाए नयाँ जिम्मेवारी ?

Nepalese Times July 1, 2022 (2 Year ago)    438 Views

काठमाडौं । गृह मन्त्रालयले मकवानपुर र रुपन्देही जिल्लाका प्रमुख जिल्ला अधिकारीको सरुवा गरेको छ। गृह मन्त्रालयले रुपन्देहीका सीडीओ ऋषिराम तिवारीलाई फिर्ता बोलाएर उनको ठाउँमा मकवानपुरका सीडीओ भरतमणि पाण्डेलाई पठाएको छ।

रुपन्देहीका सीडीओ तिवारीलाई अध्यागमन विभाग सरुवा गरिएको छ। यस्तै, मकवानपुरमा सहसचिव राजेन्द्रदेव पाण्डे नयाँ सीडीओको रुपमा खटाइएका छन्।

यस्तै जिल्ला प्रशासन कार्यालय काठमाडौंमा दुई जना महिलालाई सहायक प्रमुख जिल्ला अधिकारीको जिम्मेवारी दिइएको छ । सुप्रभा खनाल र देवी पाण्डेले सहायक प्रमुख जिल्ला अधिकारीको जिम्मेवारी पाएका हुन् ।

खनाल प्रशासन शाखाको प्रमुख समेत हुन् । उनलाई सूचना अधिकारीको समेत जिम्मेवारी दिइएको छ ।

यस्तै पाण्डेलाई नागरिकता शाखा प्रमुखको जिम्मेवारी दिइएको छ । मोरङको विराटनगर महानगरपालिका ५ स्थायी घर भएकी सुप्रभा उपसचिव भएको करिब ७ वर्ष पुगिसकेको छ । उनी ९ महिनादेखि काठमाडौंमै छिन् ।

उपसचिव नै हुँदा यसअघि ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय, उद्योग विभाग र संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा काम गरेको अनुभव छ । शाखा अधिकृतबाट निजामती सेवा प्रवेश गरेकी सहायक प्रमुख जिल्ला अधिकारी पाण्डेले निजामती सेवामा १२ वर्ष बिताइसकेकी छन् ।

यस्तै पाण्डेको स्थायी घर गुल्मीको गुल्मीदरवार गाउँपालिका वडा नम्बर ६ मा हो । राष्ट्रिय विपद् जोखिम तथा व्यवस्थापन प्राधिकरणबाट काठमाडौ‌ं प्रशासनमा आएकी उनीसँग पर्वत जिल्लाको प्रमुख जिल्ला अधिकारी भएर काम गरेको अनुभव छ ।

२०६३ असोज ८ गते शाखा अधिकृतबाट निजामती सेवामा प्रवेश गरेकी पाण्डे शाखा अधिकृत हुँदा ५ वर्ष पर्यटन, नागरिक तथा उड्डयन मन्त्रालयमा काम गरेकी छन् ।

काठमाडौं उपत्यकामा रहेकी जिल्ला प्रशासन कार्यालय ललितपुर र जिल्ला प्रशासन कार्यालय भक्तपुरमा भने सहायक प्रमुख जिल्ला अधिकारी महिला छैनन् । यद्यपि भक्तपुर जिल्लाको प्रमुख जिल्ला अधिकारी भने महिला रुद्रादेवी शर्मा रहेकी छन् ।

प्रतिक्रिया दिनुहोस