Latest News

वामदेवले गरे ओली, प्रचण्ड र माधव नेपालसँग छलफल, के-के भयो कुराकानी ?

Nepalese Times July 1, 2022 (2 Year ago)    440 Views

काठमाडौं । नेकपा एकता राष्ट्रिय अभियानका संयोजक वामदेव गौतमले सचिवालय बैठक बोलाएका छन् । आफ्नै निवास भैंसेपाटीमा शुक्रबार दिउँसो तीन बजे सचिवालय बैठक बोलाएको प्रवक्ता निमकान्त पाण्डेले जानकारी दिए ।

संयोजक गौतमले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालसँग भेटेपछि सचिवालय बैठक बोलाएका हुन् । ओली, प्रचण्ड र नेपालकै निवास पुगेर गौतमले भेटवार्ता गरेका थिए ।

तीनै जना अध्यक्षलाई गौतमले वाम एकता र एकता सम्भव नभए चुनावमा तालमेलको प्रस्ताव राखेका छन् । ‘हाम्रो जोड नेकपा पुनर्स्थापना नै हो । तर त्यो सम्भव नभए चुनावमा तालमेल गर्ने हो’ पाण्डेले भने, ‘सबैसँग सम्भव नभए मन मिल्नेहरुबीच एकता वा तालमेल गर्ने हो ।’

गौतमले ओली, प्रचण्ड र नेपालसँग लिखित प्रस्ताव नै बुझाएका छन् । गौतमलाई प्रचण्ड र माधवले भने सकारात्मक जवाफ दिएका छन् । ‘सबै विकल्पमा प्रचण्ड र माधव कमरेड तयार हुनुहुन्छ । तर केपी ओलीले भने कुनै जवाफ दिनुभएन’, गौतमलाई उद्धृत गर्दै पाण्डेले भने ।

चार दिनअघि (मंगलबार) मात्र नयाँ दल नेपाल कम्युनिस्ट पार्टी एकता राष्ट्रिय अभियान गठन गरेका वामदेव गौतम अन्य कम्युनिस्ट पार्टीका प्रमुखसँग भेटवार्तामा सक्रिय भएका छन्।

यस क्रममा उनले बिहीबार साँझ नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाललाई भेटेका छन्। यसअघि नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग उनकै निवास (खुमलटार) पुगेर भेटवार्ता गरेका गौतमले बिहीबार साँझ ७ बजे नेपाललाई पनि उनकै निवास (कोटेश्वर) पुगेर भेट गरेका हुन्।

नेपालसँगको भेटवार्ता सकारात्मक भएको गौतमको सचिवालयले बताएको छ। बिहीबारै बिहान गौतमले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई उनकै निवास (बालकोट) पुगेर भेटेका थिए।

गौतमले मंगलवार नयाँ दल घोषणा गर्दै आफू वाम दलबीच एकताको अभियानमा लाग्ने घोषणा गरेका थिए । तत्कालिन नेकपा विभाजित भएयता गौतम कुनै पनि दलमा लागेका थिएनन् ।

गौतमले कम्युनिस्ट एकतामा जोड दिँदै आएका छन् भने आफ्नो पार्टीले ३ महिनासम्म एकताका लागि पहल गर्ने गौतमले यसअघि नै घोषणा गरिसकेका छन् । सोही घोषणाअनुसार गौतमले दौडधूप बढाएका हुन् ।

प्रतिक्रिया दिनुहोस