Latest News

प्रचण्ड र राजेश हमालबीच आधा घण्टा भेटवार्ता, के-के भयो कुराकानी ?

Nepalese Times July 1, 2022 (2 Year ago)    438 Views

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र अभिनेता राजेश हमालबीच भेटवार्ता भएको छ । शुक्रबार बिहान प्रचण्डलाई भेट्न अभिनेता हमाल खुमलटारस्थित प्रचण्ड निवास पुगेका हुन् ।

भेटको अवसर सङ्गीतकार चेतन सापकोटाले मिलाइदिएका हुन् । उनका अनुसार भेटवार्ता करिब आधा घण्टा भएको थियो । भेटवार्तामा के-के विषयमा कुराकानी भयो भन्नेबारे भने खुलाईएको छैन ।

यस्तै नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र जसपा संघीय परिषद अध्यक्ष बाबुराम भट्टराईबीच भेट भएको छ। लैनचौरस्थित उपराष्ट्रपति निवासमा प्रचण्ड र बाबुरामको भेट भएको उपराष्ट्रपतिनिकट स्रोतले बतायो।

उनीहरूबीच समय-समयमा उपराष्ट्रपति नन्दबहादुर पुनको पहलमा भेट हुने गर्छ। बुधबार मात्र जसपा अध्यक्ष उपेन्द्र यादवसँग सहमतिमै पार्टी विभाजन गरेका भट्टराईले बिहीबार प्रचण्डसँग भेट्नुलाई अर्थपूर्ण रूपमा हेरिएको छ। भट्टराईनिकट स्रोतले भने उनी माओवादीमा नफर्किने दाबी गरेको छ। भट्टराईले २०७२ सालमा माओवादी त्यागेका हुन्।

यस्तै नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छे रोहित निवास पुगेका छन् । पत्नी शोकमा रहनुभएका अध्यक्ष बिजुक्छेलाई समवेदना तथा मृतक शोभा प्रधान बिजुक्छेको गत साता निधन भएको हो ।

एमाले अध्यक्ष ओली बिहीवार बिजुक्छे निवास पुगेर श्रद्धाञ्जली व्यक्त गरेका थिए । अध्यक्ष ओलीका साथ उनकी पत्नी राधिका शाक्य र एमाले स्थायी कमिटी सदस्य कृष्णगोपाल श्रेष्ठ पनि निवास पुगेका थिए ।

यसअघि बिहीवार ओली र नेकपा एकता राष्ट्रिय अभियान पार्टीका अध्यक्ष वामदेव गौतमबीच भेटवार्ता भएको थियो । एमाले अध्यक्ष ओलीलाई भेट्न गौतम ओली निवास बालकोट पुगेका थिए ।

वामपन्थी एकताको अभियान सञ्चालन गर्ने भनेका गौतमले ओलीसँग भेट्न बुधबारै समय लिएका थिए । बालकोट पुगेका गौतमलाई ओलीले नेकपा विभाजनमा प्रचण्ड–माधव र झलनाथसँगै गौतमको पनि भूमिका रहेको बताएका छन् ।

त्यसबेला बलियो पार्टी बनाउने, देश बनाउने भन्दा पनि कसले के खाने कसले के पाउने भन्नेमा सबैजना लागेको भन्दै ओलीले भने, ‘अहिले नै चाहियो भनेर मलाई घेराबन्दी गरेर पार्टी कब्जा गर्न खोज्दाका परिणामहरू पछि देखिएका हुन् ।’

गौतमले भने आफू तत्कालीन नेकपालाई एकजुट बनाउने अभियानमा रहेको बताएका छन् । भेटका क्रममा गौतमले वाम एकताको प्रस्ताव राखेको बालकोट स्रोतले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस