Latest News

जसपाबाट अलग रहने निर्णय गरेका बाबुराम भट्टराईले प्रचण्डलाई भेटे, के–के भयो कुराकानी ?

Nepalese Times June 30, 2022 (2 Year ago)    620 Views

काठमाडौं । काठमाडौं । नेकपा माअ‍ोवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र जनता समाजवादी पार्टीको संघीय परिषद अध्यक्ष डा. बाबुराम भट्टराईबीच भेटवार्ता भएको छ।

जसपाभित्र विवादका कारण पार्टी विभाजनसम्म पुग्न लागेका बेला भट्टराईले उपराष्ट्रपति निवासमा प्रचण्डसँग भेटघाट गरेका हुन् । प्रचण्ड र भट्टराईबीच १ घण्टा छलफल भएको उपराष्ट्रपति नन्दबहादुर पुनका स्वकीय सचिव सुकबहादुर रोकाले जानकारी दिए ।

भेटमा भएको कुराकानीबारे भने आफूलाई थाहा नभएको रोकाले बताए । उपराष्ट्रपति निवासमै प्रचण्ड र भट्टराईले यसअघि दुई पटक छलफल गरिसकेका छन् ।

पूर्व माओवादीहरुबीच एकताको प्रयास गरिरहेका प्रचण्डले भट्टराईलाई पार्टीमै ल्याउने कोसिस गरिरहेको र त्यो सम्भव नभए समाजवादी केन्द्र बनाएर भए पनि सँगै राख्ने प्रयत्न भइरहेको माओवादी केन्द्र निकट स्रोतले बताएको छ ।

भट्टराई पनि माओवादीसँग पार्टी एकता भन्दा पनि समाजवादी केन्द्र बनाएर एउटै मोर्चामा रहन सहमत छन् । भट्टराई र उपेन्द्र यादव अध्यक्ष रहेको जनता समाजवादी पार्टी आन्तरिक विवादका कारण फुट्ने निश्चित भएसँगै भट्टराईले नयाँ पार्टी खोल्ने तयारी गरेका छन् ।

लामो समयदेखि पार्टीभित्र भएको विवादलाई अन्त्य गर्न नसक्दा जसपा फुटको संघारमा पुगेको हो । पार्टीबाट सरकारमा सहभागी मन्त्रीको विषयमा पनि उक्त पार्टीभित्र विवाद उत्पन्न भएको थियो ।

भट्टराई निकट एक नेताका अनुसार भट्टराईले बुधबार साँझ उपेन्द्र यादवलाई बोलाएर पार्टी फुटाउने प्रस्ताव राखेका थिए। उक्त प्रस्ताव यादवले स्वीकार गरेको र अब सहमतिमा छुट्न दुवै पक्ष तयार भएको ती नेताले जानकारी दिए ।

एक नेताका अनुसार जसपा पार्टी उपेन्द्र यादवसँग रहने भएको छ। भट्टराईले भने नयाँ पार्टी खोल्ने भएका छन्। जसपा पार्टी र चिन्ह नपाएपछि भट्टराईले नयाँ पार्टी खोल्ने भएका छन्।

प्रतिक्रिया दिनुहोस