Latest News

शेखर कोइराला समूहको भेला सुरु, को–को छन् सहभागी ?

Nepalese Times June 30, 2022 (2 Year ago)    700 Views

काठमाडौं । सत्तारुढ दल नेपाली कांग्रेसका नेता शेखर कोइराला समूहको छलफल सुरु भएको छ । त्तिसपुतलीस्थित अनुपम फुडल्याण्डमा नेता कोइरालाले आफ्नो समूहका नेतासँग छलफल सुरु गरेका हुन् ।

भेलामा मुख्यगरी तीन विषयमाथि छलफल भइरहेको एक नेताले जानकारी दिए । पार्टीको आन्तरिक जीवन, समसामयिक राजनीति र देशको आर्थिक अवस्थाबारे छलफल गरी धारणा तय गरिने कांग्रेस नेता चन्द्र भण्डारीले बताएका छन् ।

बैठकमा शेखर कोइराला, चन्द्र भण्डारी लगायत नेताहरूको उपस्थिति रहेको छ। उनले आफू निकट काठमाडौंमा उपलब्ध नेता कार्यकर्तालाई भेलामा बोलाएका छन्। अहिलेसम्म नेता कोइराला, पूर्वसहमहामन्त्री डा. रामशरण महत, सांसद सञ्जय गौतमलगायतका नेताहरू जम्मा भइसकेका छन् ।

शेखर समूहको अघिल्ला भेलामा नगएका उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दिलेन्द्रप्रसाद बडू भने आज देखिएका छन् । भेलामा शेखर समूहका पदाधिकारी, केन्द्रीय सदस्य र सांसदहरूलाई समेत सहभागी गराइँदैछ ।

प्रधानमन्त्रीसमेत रहेका सभापति शेरबहादुर देउवाले पार्टी गतिविधि र सरकारका कामकारबाहीलाई सँगसँगै लैजान नसकेको भन्दै आलोचना भइरहेको छ। साथै सभापति देउवाले विधानअनुसार गठन गर्नुपर्ने विभाग तथा समितिहरूलाई पूर्णता दिएका छैनन्।

गत मंसिरमा कांग्रेसको १४ औं महाधिवेशन भएको थियो। विधानअनुसार ६ महिनाभित्र कोषाध्यक्ष, केन्द्रीय समिति, कार्यसम्पादन, संसदीय समिति र विभाग गठन गरिनुपर्नेमा कुनै पनि कामलाई सभापति देउवाले पूर्णता दिन नसकेपछि आलोचना भइरहेको छ।

सभापति देउवाले निर्वाचित केन्द्रीय सदस्यमध्ये एक जनालाई कोषाध्यक्ष मनोनित गर्नुपर्ने हो। तर अहिलेसम्म कोषाध्यक्ष पद रिक्त छ। ३३ जना केन्द्रीय सदस्य मनोनित गर्नुपर्नेमा देउवाले १३ जनालाई मात्रै मनोनीत गरेका छन्, उनीहरू सबै सभापति देउवा निकटका हुन्। कांग्रेस केन्द्रीय कार्यसमिति १६९ सदस्यीय हो। सभापतिमा देउवासँग पराजित कोइराला स्वत केन्द्रीय सदस्य छन्।

यस्तै केन्द्रीय कार्यसम्पादन र संसदीय बोर्डलाई पनि सभापति देउवाले पूर्णता दिएका छैनन्। सभापति देउवाले गत पुस १० मा कार्यभार सम्हालेका थिए। त्यो दिनदेखि गणना गर्दा पनि देउवा सभापति भएको छ महिना कटिसकेको छ। कांग्रेसका युवा नेताहरू गगन थापा र विश्वप्रकाश शर्मा महामन्त्री भएका बेला पनि विधान कार्यान्वयन हुन नसकेको भन्दै कांग्रेसभित्र आलोचनासमेत सुनिन थालेका छन्।

महामन्त्रीद्वय थापा र शर्माले केही दिनअघि सभापति देउवालाई बालुवाटारमा भेटेर विधान कार्यान्वयन गर्न विभाग गठन लगायतका काम अगाडि बढाउन आग्रह गरेका थिए। केन्द्रीय समिति बैठक आह्वान गरेर समसामयिक राजनीति तथा नीति महाधिवेशनलगायतका विषयमा छलफल गर्न उनीहरूले सभापति देउवालाई आग्रह गरेका थिए।

प्रतिक्रिया दिनुहोस