काठमाडौं । सत्तारुढ दल नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले आफ्नै पार्टीले नेतृत्व गरेको सरकारमाथि गम्भीर आरोप लगाएका छन् । अर्बौको आर्थिक चलखेर गरेर सरकारले नेपाल आयल निगमलाई पनि व्यापारीको हातमा दिने तयारी गरिरहेको भन्दै पौडेलले गम्भीर आरोप लगाएका हुन् ।
नेपाल आयल निगम व्यापारीको हातमा दिएर अर्बौँ कमाएर राजा बन्ने ध्यानमा सरकारमा रहेका मन्त्रीहरु लागेको भन्दै उनले प्रधानमन्त्री शेरबहादुर देउवालाई आफूले आयल निगम व्यापारीलाई दिन लागेको हो भनेर प्रश्न गर्न चाहेको बताए ।
यो विषयलाई सञ्चार माध्यामहरुले अघि ल्याउनुपर्ने भन्दै नेता पौडेलले आफ्नै पार्टीका सभापतिसमेत रहेका प्रधानमन्त्री देउवामाथि प्रश्न उठाएका हुन् ।
आफूले आयल निगमलाई व्यापारीको हातमा दिने चलखेल भइराखेको सुनेको उल्लेख गर्दै यो चलखेलको पछाडि करोड होइन, अर्बको चलखेल भएको आरोप लगाए।
उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री दिलेन्द्र बडूले अघिल्लो दिन मात्रै पत्रकार सम्मेलन गरेका थिए। सोही सम्मेलनमा मन्त्रालयले आयल निगम धितो राखेर कर्जा लिन स्वीकृति दिएको खुलेको थियो।
यस्तै उनले कहिल्यै किसानले भनेका बेलामा मल नपाएको बताउँदै जहिले पनि मलको हाहाकार भएको र सरकार यसमा गम्भीर हुन नसकेको बताए । किसानहरुलाई अझै मलको व्यवस्था गर्न नसकेको भन्दै सरकारप्रति आक्रोश व्यक्त गरे।
‘किन भएको छ भने हामीले यो कुरा बुझेनौँ–काँग्रेसभन्दा बढि एमाले समाजवादी । एमाले भन्दा माओवादी बढी समाजवादी । चर्काचर्का समाजवादी यहाँ छौं । तर यी चर्का समाजवादीहरुले के–के गरे ? अहिले किसानलाई जुन मार परिहेको छ’, उनले भने, ‘महंगी त पर्यो पर्यो । मलको अभावको जुन मार परेको छ । त्यतापट्टी कसको ध्यान गयो रु दुई तिहाइ ल्याएको सरकारले केही पनि करेक्सन गर्न सक्यो ?’
उनले भने, ‘अर्ब कमाएपछि त्यो नेतालाई कसले छुन सक्छ ? त्यो आजीवन राजा हुने भईहाल्यो नि । यसैमा पनि खेलबार्ड । मे के भन्नु चाहन्छु भने ७० वर्ष लडेर यो देशमा बल्लबल्ल व्यवस्था टुंगो लागेको छ । यसलाई पनि काम लागेन भनेर फेर्न खोज्ने काम नगरौँ।’