काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका नेता एवं पूर्व शहरी विकास राज्यमन्त्री रामवीर मानन्धर र काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाहबीच भेटवार्ता भएको छ ।
मानन्धर निवासमा बालाजु बाइवास पुगेर बालेनले भेट गरेका हुन्। आफ्ना साथी कुमार बे सहित पूर्वमन्त्री मानन्धरलाई भेट्न बालेन निवासमा पुगेका थिए । उनीहरू दुई घण्टा भेटवार्ता चलेको थियो। भेटका क्रममा फोहोर व्यवस्थापनका विषयमा महत्वपूर्ण छलफल भएको बताइएको छ।
नेकपा एमालेको तर्फबाट काठमाडौँ महानगरपालिकाको मेयरको टिकटका लागि मानन्धर पनि आकांक्षि रहेका थिए । शहरी विकास राज्यमन्त्री भएका बेला निकै राम्रो काम गरेर लोकप्रिय भएका मानन्धर शहरी विकासका सन्दर्भमा निकै रुचि र राम्रो ज्ञान राख्ने नेतामा चिनिन्छन् । मानन्धर र शाहको भेटघाटलाई निकै अर्थपुर्ण रुपमा हेरिएको छ।
रामवीर र बालेन बिचको भेटघाटमा काठमाडौंको फोहोर व्यवस्थापनसंगै अस्तव्यस्त ट्राफिक व्यवस्थान , बालाजु बाइसधारा पार्क व्यवस्थापन लगायतका महत्वपूर्ण बिषयहरुमा कुराकानी भएको थियो ।
शहरी विकास राज्यमन्त्री हुँदा सिस्सडोल र बन्चरे डाँडामा फोहोरको बिषयमा गहिरोसँग काम गरेका मानन्धरले आफ्नो आइडियाहरु बालेनलाई दिएका थिए।
एमालेबाट मेयरको आकांक्षी भएका बेला मानन्धरले ६ महिना भित्रमा काठमाडौंको फोहोरको दीर्घकालिन व्यवस्थापन गर्न नसकेमा पदबाट राजिनामा दिने घोषणा गरेका थिए ।
यता मेयरमा निर्वाचित भए पछि काठमाडौँको फोहोरको दीर्घकालिन व्यवस्थापन नभए सम्म खादा माला पनि नलगाउँने र कुनै उत्सव पनी नमाउँने भनेर मिसनमा खटिएका बालेन र मानन्धरबीचको कुराकानी निकै फलदायी भएको दाबी दुबै पक्षले गरेको छ।
मानन्धरसँगको भेटपछि बालेनले भेट निकै उपलब्धीपुर्ण भएको प्रतिक्रिया दिएका छन् । समस्यालाई नजिकबाट बुझ्ने र समाधानको उपाय निकाल्न सक्ने र काम गर्नै पर्छ गर्न सकिन्छ भन्ने मानन्धरको प्रतिवद्धताले आफुलाई प्रभावित पारेको उनले भनेका छन् । पूर्वमन्त्री मानन्धरले पनि जनताको मतबाट चुनिएर आएका बालेनलाई आफ्नो तर्फबाट पुर्ण सहयोग रहने बताए ।