काठमाडौं । नेपाली काँग्रेसका उपसभापति धनराज गुरूङ सवार गाडी दुर्घटनामा परेको छ।
उपसभापति गुरूङसहित पाँच जना सवार बा १९ च १८३९ नम्बरको स्कार्पियो गाडी आज बिहान रामेछापको गोगनेमा सडक किनारबाट थोरै तल झरेको छ ।
तर अगाडि ढुंगाको ओट लागेकाले ठूलो दुर्घटनाबाट जोगिएको गुरुङले बताएका छन् । उनले आफू सकुशल रहेको जानकारी गराएका छन् ।
उनले ट्वीटरमा गाडीको फोटो राख्दै लेखेका छन्, ‘ठूलो घटना हुनबाट जोगियो १ रामेछाप गोगनेमा हामी चढेको गाडी अचानक सडक किनारबाट तल गयो तर अगाडि ढुंगाको ओट लाग्न पुगेकाले ठूलो घटना हुनबाट जोगियो । भगवानको कृपाले हामी सबै सकुशल छौं ।’
गाडीमा उपाध्यक्ष गुरुङसहित रामेछापका महाधिवेशन प्रतिनिधि रत्न कार्की, ललितपुर जिल्ला सदस्य सानुबाबु महर्जन लगायत पाँच जना थिए ।
उनीहरु ओखलढुंगा घर भएका काँग्रेस केन्द्रीय सदस्य प्रदीप सुनुवारकी श्रीमतीको निधन भएकाले परिवारलाई भेटेर फर्किंदै थिए ।