काठमाडौँ । धरान उपमहानगरपालिकामा स्वतन्त्र उमेदवार हर्क साम्पाङले मेयर निर्वाचित भएको छोटो समयमै एक पछि अर्को जनमुखि काम गरेर धरानबासीको मन जितिरहेका छन् ।
दुनिँयाले के भन्छ साम्पाङलाई कुनै चासो छैन उनलाई म के गरिरहेको छु जनताको लागि जनपक्षीय काम कसरी गर्न सकिन्छ त्यो मात्रै चासो छ । ठूलो फार्तीफूर्ती होइन साना साना कुरा तर जनताको जीवनशैलीसँग प्रत्यक्ष सरोकार राख्ने बिषयहरुलाई सिरोपर गर्दै विकास र जनताका समस्याहरुलाई कसरी समाधान गर्न सकिन्छ भन्ने बढी चासो र चिन्ता लिने गरेका छन् ।
मेयर साब बनेर कुनै भिआइपी जसरी महंगो गाडी चढेर उनी हिँडेका छैनन् । साधारण जनताको जीवनशैली र हर्कको जीवनशैली उस्तै छ। जनता भन्दा फरक आफुलाई नदेखाउँन उनले सक्दो प्रयास गरेका छन् ।
साम्पाङ अहिले पनि आफ्नो निजी मोटरसाइकल चढेर हिड्ने गर्दछन् । केहि दिन अघि त उनले पेट्रोलको मूल्य अत्यधिक बढे पछि साइकल किन्नु पर्छ की के हो रु भनेर साइकलको मूल्य समेत सोधेका थिए । सडकको फोहर टिप्न जनतासँगै देखीने साम्पाङ श्रमदानका लागी जननासँगै बसेर गिटि फुटाइरहेका देखिन्छन् ।
आफैँलै हम्मर हानेको , पसिना बगाउँदै काम गरेका, जनताको घेरामा बसेको तस्बिरहरु समाजिक संजालमा प्रसस्त देख्न सकिन्छ । फोहोर मैला व्यवस्थापनका लागी देश विदेशका नेपालीहरुले पनि उनलाई प्रशस्त सहयोग गरिरहेका छन् ।
रोचक कुरा त आफ्ना गतिविधीहरुको तस्बिर उनी आफैँले सामाजिक संजलामा अपलोड गर्दछन् । महत्वपुर्ण बिषयहरु आफ्नो मत अभिमतहरु पनी उनी फेसबुकमा लेखिरहन्छन् । कतिपयले फेसबुकमा धेरै स्टााटस नलेख्न पनि उनलाई सुझाव दिन्छन् तर उनी निरन्तर लेखिरहन्छ । आफुलाई फेसबुकलेनै मेयर बनाएको साम्पाङले भन्ने गरेका छन् ।
स्थानिय सरकारलाई जनताको सबैभन्दा नजिकको सरकार भनिन्छ । जनतासँगै खाने , बस्ने र भिज्ने गरेर स्थानिय सरकार कस्तो हुनु पर्छ भन्ने नमुना पनि साम्पाङले देखाइरहेका छन् । एक्लै संघर्ष गरेर धराने जनताले मेयरको कुर्सिमा पुर्याइदिएका उनी कसले के आलोचना गर्छ मतलव नराखी आफ्नै काममा खटिएका छन् ।
साम्पाङले आफूलाई अहिलेसम्म त्यस्तो असहज केही पनि नभएको बताएका छन् । ‘मलाई त्यस्तो कुनै असहजता छैन, सबैले सहयोग गरिरहनु भएको छ,’ उनले भने, ‘जे जस्तो आइलाग्छ, त्यसलाई त्यस्तै तरिकाले मिलाउँदै जाने हो, म डराएको पनि छैन, मलाई अप्ठ्यारो लागेको पनि छैन ।’पुराना नीति, नियम, कानुन र प्रक्रियाका बाबजुद आफूलाई त्यस्तो अड्चन महसुस नभएको उनको भनाइ छ ।
उपमहानगरपालिकाका उपप्रमुख आइन्द्र विक्रम बेघा पनि उपमहानगर प्रमुखसँग सहज ढंगले काम भइरहेको बताए । ‘काम गर्न एकदम सहयोग भएको छ, कतिपय नमिलेका विषयहरू मिलाउने गरी मैले पनि प्रमुखज्यूलाई सहयोग गरेको छु,’ बेघा भन्छन्, ‘उहाँ आफै धेरै सक्रिय र बुझ्ने भएका कारण मलाई पनि सहज भएको छ, उहाँको एजेण्डा र मेरो एजेण्डा जनताकै समस्या समाधान गर्ने भएकोले कुनै अप्ठ्यारो छैन ।’
पहिलो कार्यपालिकको बैठकमा विवाद भएपछि दोस्रो बैठक बस्न नसक्दा बेघाले नै सहजीकरण गरेका थिए । जसका कारण साम्पाङले प्राविधिक पक्षमा काम गरिरहँदा बेघाले राजनीतिक शक्ति सन्तुलनको भूमिका खेलिरहेका छन् ।
साम्पाङ भने कहिले खोला खोल्सा चहार्दै त कहिले खानेपानीको आयोजनाको चुहावट रोक्न तल्लीन देखिन्छन् । उनी खानेपानीको एजेण्डामा निरन्तर लागिरहेका छन् । ‘दिनभरि जिमभित्र फलाम उचालेर बोसो घटाउने युवाहरूलाई पकुवा खोलामा प्राकृतिक वातावरणमा शारीरिक श्रम गरेर धरानवासीलाई पानी खुवाउन सहयोग गर्न आह्वान गर्दछु,’ साम्पाङले गत शनिबार सामाजिक सञ्जाल फेसबुकमा लेखे ।
सोही अनुसार कतिपय युवा शनिबार पकुवा खोलामा गएर खानेपानी धरान ल्याउने काममा खटिएका थिए । ‘यो काम टेण्डर लगाएर ठेक्कामा गर्न थालेको भए यति समयमा काम पनि हुँदैन थियो र उपमहानगरपालिकाकाले कम्तीमा ५० लाख सकिने थियो,’ श्रमदानमा खटिएका एक युवाले भने ।
स्वतन्त्र उम्मेदवारी दिएर धरान उपमहानगरको प्रमुख पदमा विजयी बनेका हर्कराज साम्पाङको समय निकै व्यस्त छ । उनी प्रत्येक दिन नागरिक सचेतनाका काममा जुट्छन् । सरसफाइ, फोहोर व्यवस्थापन, पानीको स्रोत व्यवस्थापन, ट्राफिक सचेतनालगायतका काममा उनको व्यस्तता बढिरहेको छ । उनले लागू औषध प्रयोगको विरुद्धमा पनि सामाजिक सञ्जालमार्फत अभियान चलाइरहेका छन् ।
यसअघिका बजेट त वास्तविक धरातलमै रहेनछन्, हामीले यथार्थमा आधारित बजेट ल्याउने कोसिस गरेका छौँ,’ बेघाले भने, ‘हामी आएपछि बजेट घटेको होइन, पहिलेका बजेटको यथार्थ आम्दानी पनि अहिलेकै बजेटजस्तै हो ।’