Latest News

यस्तो पत्र लेख्दै अर्का राप्रपा विभागीय प्रमुखले पनि छाडे पार्टी

Nepalese Times June 29, 2022 (2 Year ago)    493 Views

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीको खेलकुद विभाग प्रमुख दमन बस्नेतले राजीनामा दिएका छन्। उनले अध्यक्ष राजेन्द्र लिङ्देनलाई बुधबार राजीनामा पत्र लेख्दै पार्टीको साधारण सदस्यसमेत नरहने जनाएका छन्।

उनले पछिल्लो समय पार्टीमा सैद्धान्तिक र वैचारिक विचलन आएको, गुटगत राजनीति बढेको र जडसूत्रवादी चिन्तन देखिन थालेको भन्दै त्यसबाट आफू निराश भएको बताएका छन्।

‘म पद, स्वार्थ, अवसर र कुनै महत्वाकांक्षा पूर्तिका लागि पार्टीमा आवद्ध भएको होइन। अनुशासन, कर्म, इमानदारिता र निष्‍ठामा विश्वास गर्दछु’, उनले भनेका छन्, ‘पछिल्लो समय राप्रपामा आएको सैद्धान्तिक, वैचारिक विचलन, गुटगत राजनीति, साँघुरो सोच, अनि संकीर्णता र जडसूत्रवादी चिन्तनबाट निराश भएँ। पार्टीलाई एउटा गन्तव्यमा पुर्‍याउने चाहना र सपनामाथि यी पक्षहरुले निकै ठूलो अवरोध पुग्ने मेरो निष्कर्ष हो।’

बस्नेतले महाधिवेशनपछि जुन उत्साहका साथ सही बाटोबाट सबै पक्षलाई समेटेर पार्टी अघि बढ्नुपर्नेमा पार्टी दिनप्रतिदिन उन्माद, अहंकार र आलोकाँचोपनको सिकार हुँदै गएको बताएका छन्।

‘यो ओरालो र अन्धकारमय कहीँ नपुगिने यात्राको निरीह साक्षीको रुपमा बसिरहन मेरो आत्माले मानेन’, उनले भनेका छन्, ‘आजकै मितिदेखि लागु हुने गरि खेलकुद विभाग प्रमुखसहित राप्रपाको साधारण सदस्य पदबाट राजीनामा गरेको छु।’

त्यस्तै, राष्ट्रिय प्रजातन्त्र पार्टीका सामाजिक विभाग प्रमुख ज्वाला संग्रौलाले पार्टी छाडेकी छिन् । युवा नेतृ संग्रौलाले सामाजिक संजालमार्फत आफूले राष्ट्रिय प्रजातन्त्र पार्टी छोडेको घोषणा गरेकी हुन् । मंगलबार राति सामाजिक संजालमा एक सन्देश जारी गर्दै उनले राप्रपा छोडेको घोषणा गरेकी हुन् । उनि राप्रपामा सामाजिक विभाग प्रमुख थिइन् ।

यस्तो उनले लेखेको पत्र
श्रीमान अध्यक्ष ज्यु राप्रपा केन्द्रिय कार्यालय, धुम्बाराही काठमाडौं ।
बिषय :- राजीनामा बारे।

उपरोक्त सम्बन्धमा तपाईले मलाई राप्रपाको खेलकुद बिभाग प्रमुखको जिम्मेवारी दिनुभएकोमा आभारी छु । म पद, स्वार्थ, अबसर र कुनै महत्वाकांक्षा पुर्तिको निमित पार्टीमा आबद्ध भएको होइन । म अनुशासन, कर्म, इमानदारीता र निष्ठामा विश्वास गर्दछ ।

पछिल्लो समय राप्रपामा आएको सैद्धान्तिक बैचारिक बिचलन, गुटगत राजनिती, साघुरो सोच, अनि सकिर्णता र जडसुत्रबादी चिन्तनबाट म अत्यन्तै निराश भए । पार्टीलाई एउटा गन्तब्यमा पुर्याउने चाहना र सपना माथी यी पक्षहरुले निकै ठुलो अबरोध पुग्ने मेरो निष्कर्ष हो ।

महाधिवेशन पछि जुन उत्साहका साथ सहि बाटोबाट सवै पक्षलाइ समेटेर पार्टी अघि बढ्नुपर्नेमा पार्टी दिनप्रतिदिन उन्माद, अहकार र आलोकाचोपनको सिकार हुँदै गयो । यो ओरालो र अन्धकारमय कहि नपुगिने यात्राको निरीह साक्षिको रुपमा बसिरहन मेरो आत्माले मानेन ।

आजकै मिति देखि लागुहुने गरि खेलकुद विभाग प्रमुख सहित राप्रपाको साधारण सदस्य पदबाट राजिनामा गरेको छु। सहयात्राको क्रममा साथ दिनुहुने सबैमा हार्दिक धन्यवाद ।
दमन बस्नेत प्रमुख, खेलकुद विभाग
राप्रपा

प्रतिक्रिया दिनुहोस