Latest News

यी हुन् माओवादी केन्द्र प्रवेश गरेका विप्लव नेकपाका ६७ नेताहरु (सूचीसहित)

Nepalese Times June 29, 2022 (2 Year ago)    407 Views

काठमाडौं । नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका पूर्व पोलिटब्युरो सदस्य तथा सेती–महाकाली इन्चार्ज ओमप्रकाश पुनसहितका नेताहरु नेकपा माओवादी केन्द्रमा प्रवेश गरेका छन्।

उनीहरुलाई बुधबार केन्द्रीय कार्यालय पेरिसडाँडामा आयोजित कार्यक्रममा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले स्वागत गरेका हुन्। पार्टी कार्यालयमा आयोजित पार्टी प्रवेश कार्यक्रममा ६७ जना सदस्यहरु माओवादी प्रवेश गरेका हुन्।

माओवादी धारालाई एकीकृत गर्ने भन्दै पुनसहित पूर्व केन्द्रीय सदस्य तथा सेती इन्चार्ज शंकरबहादुर खड्का, नवौँ महाधिवेशन आयोजक कमिटी सदस्य तथा महाकाली इन्चार्ज दलबहादुर धामी र पूर्व दार्चुला तथा कञ्चनपुर इन्चार्ज एवम् विशेष कमिटी सदस्य रमेश परियारले सामूहिक राजीनामा दिएका थिए।

राजीनामा लगत्तै माओवादी केन्द्रमा प्रवेश गर्ने बताएका उनीहरु आज माओवादी प्रवेश गरेका हुन्। पुन महाकाली ब्यूरो इन्चार्ज समेत हुन् । यस्तै पूर्व केन्द्रीय सदस्य खड्का सेती ब्यूरो इन्चार्ज हुन् भने धामी महाकाली इन्चार्ज हुन्। पूर्व दार्चुला तथा कञ्चनपुर जिल्ला इन्चार्ज समेत रहेका परियार हाल विशेष कमिटी सदस्य रहेका छन्।

पार्टी प्रवेश गर्ने अन्य नेताहरुमा लक्षमण बहादुर खड्का, भुवन कुँवर, राम भट्ट, टेकराज भट्ट, इन्द्र मडेइ, ममता कुँवर, गोमा वली, गोविन्द साउत, पदम सिंह, टिकाराम राना, भुपेस पुन, सन्दिप विक, प्रथममणि राना, सन्दिप तामाङ, युवराज पराजुली, खेम प्रदान, दीपक राना मगर, विजय राई, सुक्र राई, रुपक श्रेष्ठ लगायत रहेका छन् ।

आफूले विप्लवको नेतृत्वमा क्रान्ति सम्भव नहुने देखेरै बाटो बदलेको पुनले बताए । उनले विप्लव आफू क्रान्ति गर्न पनि नसक्ने माओवादी शक्तिलाई एकीकृत र ध्रुवीकृत गर्न पहल नगरेकै कारण आफूहरूले विप्लवले नेतृत्व गरेको पार्टी परित्याग गरेको उनको भनाइ थियो ।

आफूहरु अवसर लिनका लागि पार्टी प्रवेश नगरेको उनले प्रष्ट पारे। ‘हामी शुद्ध मनले यहाँ आइपुगेका हौं। हामी अवसर लिन आएका होइनौं। हामीलाई जनतामा जान आएका हौं,’ उनले भने, ‘हामीलाई फिल्डमा जान दिनुस्। अब हामी जवाफ दिने ठाउँमा पुगेका छौं।’

आफूहरुलाई दक्षिणपन्थी र अवसरवादको आरोप लागेपनि त्यसबाट पछि हट्न नुहने उनले बताए। ‘हामीलाई दक्षिणपन्थी र अवसरवादको आरोप लाग्नसक्छ। गाली बेइज्जती पनि हुनसक्छ,’ सम्बोधनको क्रममा उनले भने, ‘राजनीतिमा रिस्क पनि लिनुपर्छ। अपमानित भएपनि यदि हामीले शुद्ध मनले गएपनि आन्दोलनलाई कमजोर गर्ने काम हामीबाट भएको छ भने आत्मालोचित हुनुपर्छ।’

 

 

प्रतिक्रिया दिनुहोस