Latest News

पार्टी निर्णयविरूद्ध हस्ताक्षर गरेकामध्ये प्रेम आलेसहित यी ६ सांसद किन भए ब्याक ?

Nepalese Times June 25, 2022 (2 Year ago)    568 Views

काठमाडौं । नेकपा एकीकृत समाजवादी पार्टीको मन्त्री फिर्ता बोलाउने निर्णयविरूद्ध उत्रिएका १० सांसदमध्ये ६ जना सांसद ‘ब्याक’ भएका छन् ।

संस्कृती, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेसहित ६ सांसद ‘ब्याक’ भएका हुन् । उनीहरुले एक पत्र लेख्दै आफूहरु पछि हटेको जानकारी गराएका हुन् ।

अध्यक्ष माधवकुमार नेपालसमक्ष संसदीय दलको बैठक बोलाउन माग गर्दै दिइएको लिखित निवेदनबाट हस्ताक्षर फिर्ता लिँदै ‘ब्याक’ भएको उनीहरुले बताएका छन् ।

मन्त्री आलेसहित गोपालबहादुर बम, वीनादेवी बुढाथोकी, धनबहादुर बुढा, पुष्पाकुमारी कर्ण कायस्थ र कृष्णलाल महर्जनले आफ्नो हस्ताक्षर फिर्ता लिएको औपचारिक जानकारी गराएका हुन् ।

अब संसदीय दलको बैठक माग गर्दै निवेदन दिने स्वास्थ्यमन्त्री विरोध खतिवडा, शहरी विकासमन्त्री रामकुमारी झाँक्री, श्रम रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठ र सासंद निरा जैरु मात्रै रहने भएका छन् ।

८ बुँदे मागसहित दलको बैठक बोलाइयोस भनी पेस गरेको पत्रमा आफूहरुकोसमेत हस्ताक्षर रहेकोमा उक्त हस्ताक्षर फिर्ता लिने निर्णय भएको मन्त्री आलेसहितका ६ सांसदले पत्रमा भनेका छन् ।

हिजै मन्त्री आलेले पार्टीको पोलिटब्यूरो बैठकमा पार्टी निर्णयको सम्मान गर्दै १२ घण्टाभित्र पार्टीको निर्णय लागू गराउने प्रतिबद्धता जनाएका थिए ।

 

प्रतिक्रिया दिनुहोस