Latest News

एमालेमा ओलीको एक्सन सुरु, घनश्याम भूसालपछि अर्का नेतालाई पनि कारबाही सिफारिस

Nepalese Times June 25, 2022 (2 Year ago)    582 Views

धनगढी । कैलाली नेकपा एमालेका अध्यक्ष रतन थापालाई कारबाही गर्न सिफारिस गरिएको छ ।

बिहीबार बसेको सचिवालय बैठकले स्थानीय निर्वाचनमा पार्टीकै उम्मेदवारलाई हराउन भूमिका खेलेको, जिल्ला कमिटिलाई निष्कृयजस्तै बनाएको, पार्टीका केन्द्रिय अध्यक्ष र जिल्ला इन्चार्जलाई गालीगलोज गरेको भन्दै कारबाहीका लागि प्रदेश कमिटीमा सिफारिस गरिएको हो ।

अध्यक्ष थापाले पार्टीको बैठक समेत नबसालेको, चुनावी समीक्षाका लागि बेठक बोलाउन पटक–पटक आग्रह गर्दा पनि बेवास्ता गरेका कारण उनलाई कारबाहीका लागि सिफारिस गरिएको एमालेका एक नेताले बताएका छन् ।

सचिवालय बैठकमा अध्यक्ष थापा अनुपस्थित रहेका थिए । एमाले नेताका अनुसार अध्यक्ष थापालाई साधारण सदस्य समेत नरहनेगरी कारबाही गर्न प्रदेश कमिटीलाई सिफारिस गरिएको छ ।

यही असार ६ गते एमाले कैलालीका इन्चार्ज नारदमुनि रानाले अध्यक्ष थापालाई २३ बुँदे स्पष्टीकरण सोधेका थिए । तीन दिनको समय दिएर सोधिएको स्पष्टीकरणको उनले जवाफ समेत नफर्काएपछि साधारण सदस्य समेत नरहने गरी कारवाही सिफारिस गरिएको एमाले कैलालीले जनाएको छ ।

एमालेबाट सुदूरपश्चिम प्रदेशसभा सदस्य समेत रहेका थापा गत पुसमा सम्पन्न जिल्ला अधिवेशनबाट अर्का प्रत्यासी रणबहादुर चन्दलाई ४ मतले हराउँदै अध्यक्षमा विजयी भएका थिए ।

प्रतिक्रिया दिनुहोस