Latest News

काठमाडौंका अस्पतालहरु भरिन थाले, लकडाउन गर्न सिफारिस !

Nepalese Times June 24, 2022 (2 Year ago)    586 Views

काठमाडौं । जनस्वास्थ्यविद्हरुले काठमाडौंमा हैजा महामारीकै रुपमा फैलनसक्ने केही पूर्वसंकेत देखिसकेको भन्दै आवश्यक पूर्वतयारी गर्न सरकारसँग आग्रह गरेका छन् ।

२ असारमा बागबजारमा बस्ने दिदीबहिनीमा पुष्टि हैजा शुक्रबार दिउँसोसम्म आइपुग्दा उपत्यकाका सात ठाँउका मानिसमा देखा परिसकेको भन्दै जनस्वास्थ्यविद्हरुले तत्काल नियन्त्रणको प्रयास थाल्नुपर्ने बताए ।

डिल्लीबजार, कपन, सानेपा, बालाजु, बल्खु र थानकोटका मानिसमा हैजाका आठ जना बिरामी फेला परेका इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले जनाएको छ ।

संक्रमणको स्रोत पत्ता नलाग्नु वा धेरै स्थानमा हैजाका बिरामीका देखा पर्नु हैजा महामारीकै रुपमा फैलनसक्ने पूर्वसंकेत भएको जनस्वास्थ्यविद्हरुले बताएका छन् । उनीहरुले तत्काल लकडाउन गरेर भए पनि नियन्त्रणमा सबै जट्न सरकारसँग सिफारिस गरेका छन् ।

महाशाखाका निर्देशक डा. चुम्मनलाल दास पनि हैजाको आउटब्रेक हुनसक्ने जोखिम रहेको बताउँछन् । हैजाको संक्रमणको स्रोतमा अझैसम्म पनि पुग्न नसकिएको भन्दै जनस्वास्थ्यविद्ले भने, ‘त्यो स्रोत एकिन गर्न सकिएको भए रोकथाम तथा नियन्त्रण गर्न सकिन्थ्यो होला ।’

हैजा पुष्टि भएसँगै कारण पत्ता लगाउन एवं रोकथाम तथा नियन्त्रणबारे सुझाव दिन जनस्वास्थ्य कार्यालय, काठमाडौंले छानबिन टोली गठन गरेको छ । कार्यलयका प्रमुख वसन्त अधिकारीको संयोजकमा गठित ६ सदस्यीय टोलीले बागबजारमा हैजा संक्रमित भेटिएको घरको पानी नमुना परीक्षण गर्दा इकोली र कोलिफर्म जीवाणु भेटिएको छ ।

डिल्लीबजारको संक्रमितले प्रयोग गरेको धाराको पानीमा पनि कोलिफर्म जीवाणु भेटिएको महाशाखाले जनाएको छ । शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल, टेकुका सरुवा रोग विशेषज्ञ डा. शेरबहादुर पुन हैजा भित्रभित्रै फैलिइसकेको आशंका गर्छन् ।

त्यसमा सहमत अर्का संक्रामक रोग विशेषज्ञ डा. प्रभात अधिकारी भन्छन्, ‘काठमाडौं उपत्यकामा मानिसको जनधनत्व बढी छ । पानीमा दिसाको पाइने जीवाणु भेटिरहेको छ । जुन पानी अन्य मानिसले पनि सेवन गरेका होलान् । जसका कारण संक्रमण भित्र–भित्र फैलिरहेको छ । केही दिनमा आउटब्रेक हुन्छ ।’

अहिले अस्पतालमा ८ जना भर्ना भएका छन् । हैजा १० जना बिरामीमध्ये एक जनामात्रै जटिल अवस्थामा पुग्छन् भन्ने मानिन्छ । त्यसरी हेर्दा अहिले नै काठमाडौं उपत्यकामा सयभन्दा बढी हैजाको संक्रमित भइसकेको अनुमान गर्न सकिने डा अधिकारी बताउँछन् ।

हैजा फैलन नदिन खोपको तयारीसँगै जनचेतनाको पाटो बढाउनुपर्ने विज्ञहरूको सुझाव छ । वर्षायाममा धेरै पानी पर्छ । पानीले थुप्रिएको फोहोर कुहिन्छ र फोहोरबाट निस्कने रस वर्षाको पानीले बगाएर लग्छ । दिसाका जिवाणु इनार वा पानीको मुहानमा मिसिँदा हैजा संक्रमण गराउँछ ।

२०६६ सालमा जाजरकोटमा फैलिएको हैजाबाट ३५० जनाको ज्यान गएको थियो । ६० हजारभन्दा बढीलाई उपचार गराउनु परेको थियो । त्यससमयमा सुर्खेत, दैलेख, रुकुम, रोल्पा लगायतका सात जिल्लामा हैजा देखा परेको थियो ।

काठमाडौं उपत्यकामा भने सन् २०१५ र २०१६ यता हैजाका बिरामी फाटफुट देखिएका छन् । तर काठमाडौं उपत्यका जहिले पनि जोखिममा रहने जनस्वास्थ्यविद्हरुको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस