Latest News

उपसभापति खड्कालाई कांग्रेसले दियो महत्वपूर्ण जिम्मेवारी, देउवाले गरे मनोनित

Nepalese Times June 24, 2022 (2 Year ago)    652 Views

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानको प्रमुखमा कांग्रेस उपसभापति पूर्णबहादुर खड्का मनोनि‍त भएका छन् ।

प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवाले उनलाई केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानको प्रमुखमा नियुक्त गरेका हुन् ।

पार्टीको विधानको धारा ३६ र कांग्रेसको नियमावली २०७६को नियम ३३ बमोजिम खड्कालाई कांग्रेसको केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानको प्रमुखमा मनोनित गरिएको हो ।

यसअघि वैशाख ३० गते सकिएको स्थानीय तह निर्वाचनमा नेपाली कांग्रेसले पार्टी उपसभापति खड्कालाई निर्वाचन परिचालन समितिको संयोजक बनाएको थियो ।

सुर्खेत, वीरेन्द्रनगर निवासी ५३ वर्षीय पूर्णबहादुर खड्का समानुपातिकतर्फ नेपाली कांग्रेसका सभासद हुन्। उनि २०४८, २०५१ र २०५६ का तीनवटै संसदीय निर्वाचनमा सुर्खेत क्षेत्र नं १ बाट नेपाली कांग्रेसका उम्मेदवारका रूपमा निर्वाचित भएका हुन्।

यसबीच उनले सूचना तथा सञ्चार मन्त्री र गृह मन्त्रीको जिम्मेदारी पटकपटक सम्हालिसकेका छन् । लामो समयदेखि नेपाली कांग्रेसका केन्द्रीय सदस्य रहिआएका खड्का पार्टी विभाजन हुँदा नेपाली कांग्रेस प्रजातान्त्रिकका पनि केन्द्रीय सदस्य थिए।

२०३१ सालबाट राजनीतिक यात्रा शुरु गरेका उनले पटक–पटक गरेर कुल पाँच महीना जेल जीवन विताइसकेका छन् । पूर्व राजा ज्ञानेन्द्रको शासनकालमा भएको प्रतिगमन विरोधी आन्दोलनमा सक्रिय रहँदा उनी थुनामा परेका थिए ।

त्रिभुवन विश्वविद्यालयबाट राजनीतिशास्त्रका स्नातक पूर्णबहादुर खड्का एक छोराका पिता हुन्। समाजसेवामा उनको रुचि छ र व्यक्तिगत तवरमा तथा संघसंस्था मार्फत सामाजिक कार्यमा स’क्रिय रहिआएका छन्।

प्रतिक्रिया दिनुहोस