काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने काठमाडौं महानगरपालिकाका मेयर बालेन साह र धरान उपमहानगरपालिका मेयर हर्क साम्पाङलाई आफ्नो पार्टीमा ल्याउन प्रयास गर्ने बताएका छन् ।
शुक्रबार रिपोर्टस् क्लबमा प्रकार सम्मेलन गर्दै उनले भने, ‘बालेन साहजी र हर्क साम्पाङजी जस्ता मान्छेहरुको साथ हामीलाई मात्र होइन अन्य दललाई पनि आवश्यक छ । तर हामीले प्रयास गर्छौं ।’
उनीहरु मेयरमा निर्वाचित भइसकेपछि एउटै पार्टीमा बसेर काम गर्ने विषयमा कुराकानी नभएको लामिछानेको भनाइ छ । ‘हामीले पार्टी खोल्दा बालेन साह र हर्क साम्पाङ निर्वाचित भइसक्नु भएको थियो,’ उनी भन्छन्, उहाँहरु निर्वाचित भइसकेपछि हामी स्वागत गर्न तयार छौं । तर उहाँहरुसँग कुरा भएको छैन । उहाँहरुले काम गरिराख्नु भएको छ ।’
यस्तै बालेन र हर्कहरूलाई असफल हुने सुविधा नभएको भन्दै उनीहरुलाई काम गर्न दिनुपर्ने लामिछानेले बताए । उनले भने, ‘उहाँहरुलाई काम गर्न दिनुपर्छ । काम गरेर देखाउनु पनि छ । उहाँहरुलाई फेल हुने सुविधा पनि छैन ।’ राजनीतिबाट आएका मान्छेबाट मात्र राजनीति सफल हुन्छ भन्ने भाष्य परिवर्तन गर्नका लागि पनि उनीहरु सफल हुनुपर्ने उनले बताए । लामिछानेले भने, ‘उहाँहरुको सफलताले त्यसलाई परिभाषित गर्छ, प्रमाणित गर्छ । हामीले उहाँलाई सफल कार्यकालको शुभकामना दिने हो ।’
राष्ट्रिय स्वतन्त्र पार्टीमा आए पनि नआएपनि उनीहरुलाई सल्लाह र सुझाव आवश्यक भए आफूहरु २४ घण्टा तयार हुने बताए । उनले भने, ‘हाम्रो पार्टीमा ल्याउन नल्याउने भन्दा पनि उहाँहरुको कार्यकालको सफलता हाम्रा लागि प्राथमिकताको कुरा हो ।’
उनले पूर्व डिआइजी रमेश खरेलसँग भने आफ्नो छलफल भएको बताए। आफूहरुको प्राथमिकता जनताको मुद्दा हुने लामिछानेको भनाइ छ। उनले खरेलसँगको छलफलमा साझा अजेण्डामा काम गर्न सकिने कुराकानी भएको जानकारी दिए। ‘हामीले केही गरेर देखाउने कुरा गरेका छौं,’ उनले भने, ‘अब त अत्ति भयो भनेर हामी एक ठाउँमा उभिएका छौं।’
राजनीतिक पृष्ठभूमिबाट आएकाले मात्र काम गर्न सक्छन् भन्ने भाष्य परिवर्तन गर्न पनि स्वतन्त्र रुपमा निर्वाचित जनप्रतिनिधि सफल हुनुपर्ने उनको भनाइ छ। यस्तै नयाँ राजनीतिक दल घोषणा गरेका रवि लामिछानले आफ्नो पार्टी कुनै स्वतन्त्र उम्मेदवारविरुद्ध नभएको दाबी गरेका छन्।
उनले पत्रकार सम्मेलनमा बोल्दै यस्तो दाबी गरेका हुन्। स्वतन्त्र रुपमा देखिएको परिर्वतनलाई मद्दत गर्छ भनेर सदुपयोग गर्न खोजेको आरोप गलत भएको उनले जिकिर गरे। उनले स्वतन्त्र उम्मेदवारी दिने कसैकोविरुद्धमा आफ्नो पार्टी नभएको स्पष्ट पारे। उनले सही उम्मेदवार भएमा आफूहरुले पनि स्वतन्त्र उम्मेदवारलाई समर्थन गर्ने बताए।
उनले निर्वाचन आयोगले स्वतन्त्र पार्टीको नाम नदिएमा विकल्प सोच्न सकिने बताए। अन्तराष्ट्रिय रुपमा स्वतन्त्र दलहरूको नाम देखेकाले यसको चयन गरेको उनको भनाइ छ।