काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले नामकै कारण निर्वाचन आयोगले दल दर्ता नगरे नाम फेर्ने बताएका छन् ।
काठमाडौंमा पत्रकार सम्मेलन गरेर उनले निर्वाचन आयोगले मान्यता दिनुपर्ने र दिएन भने अर्को नाम पनि तयारी अवस्थामा रहेको बताए ।
पत्रकार सम्मेलनमा प्रवक्ता मुकुल ढकालले दल दर्ता ऐन अनुसार आफूहरुको दल दर्ता हुने र नाम परिवर्तन गर्नु परेमा फेरि घोषणा सभा नहुने स्पष्ट पारे । दलको नाम राष्ट्रिय स्वतन्त्र पार्टी राख्दा स्वतन्त्र उम्मेदवार बन्नेहरुप्रति अन्योल हुने भन्दै निर्वाचन आयोगमा उजुरी परेको छ ।
यस्तै सञ्चार पेशा छाडेर ‘नेपाल स्वतन्त्र पार्टी’ घोषणा गरेका रवि लामिछानेले तीन करोड बढी ठगी गरेको आरोप लागेपछि लामिछानेले त्यसको जवाफ दिएका छन् ।
लामिछानेले न्युज २४ टेलिभिजनमा हुँदै रियालिटी शो ‘द लिडर’ प्रशारण गर्ने घोषणा गरेका थिए । न्युज २४ छाडेर लामिछानेले २०७७ फागुन ११ गते ग्यालेक्सी फोरके टेलिभिजन ल्याउने घोषणा गरे । उक्त कार्यक्रम पनि ग्यालेक्सी फोरकेबाटै प्रशाण हुने बताइएको थियो ।
‘द लिडर’को अडिसन सात वटै प्रदेश र विदेशमा बस्ने नेपालीहरुको लागि खुलाइएको थियो । ‘एसआरबिएन’ मिडियाले उक्त कार्यक्रमको पहिलो अडिसन चितवनमा हुने सार्वजनिक सूचनासमेत जारी गरेको थियो । तर, अहिलेसम्म उक्त रियालिटी शो प्रशारण नभएको र शोमा सहभागी हुन आवेदन दिएकाहरुबाट लामिछानेले तीन करोड बढी गठी गरेको आरोप लगोको हो ।
कैलालीको जानकी गाउँपालिका–५ का आदित्य न्यौपानेले सामाजिक सञ्जालमा एउटा स्टाटस लेखेर लामिछानेसँग हिसाब मागेका छन् । लामिछानेको त्यतिबेलाको भनाइ उद्धृत गर्दै न्यौपानेले भनेका छन्– ‘समाज र वर्तमान पुस्ताले सोचेको अनि खोजेको नेतृत्व ल्याउन यसले महत्वपूर्ण भूमिका खेल्ने भनेर लामिछानेले सार्वजनिक रुपमा भनेका थिए ।’
नाम दर्ताको निम्ति एक हजार रुपैयाँ तिरेर फारम भरेको न्यौपानले बताएका छन् । उनले लेखेका छन्, ‘लामिछानेले नयाँ कार्यक्रम ल्याउने सुनेपछि फाराम भर्नेको भीड थामिनसक्नु भयो । तर, अहिलेसम्म न कार्यक्रम सञ्चालनमा आयो, न हजार रुपैयाँ नै फिर्ता पाएँ ।’
न्युज २४ छाडेर ग्यालेक्सीमा गएपछि फोन सम्पर्क गरेको न्यौपानेले बताएका छन् । आफूले पटक पटकको फोन सम्पर्कमा ‘हामीलाई थाहा छैन’ भन्ने जवाफ पाएको उनको भनाइ छ । उनले आफ्नो मात्रै नभइ हजारौं युवाको पैसा डुबेको बताएका छन् ।
यसको जवाफमा लामिछानेले रकम फिर्ताका लागि सार्वजनिक सूचना जारी गरिएको र अहिलेसम्म ८८३ जनाले रकम फिर्तासमेत लगिसकेको बताए । बाँकी नपाउनेहरुले समेत आफ्नो पैसा फिर्ता लैजान लामिछानेले आग्रह गरेका छन् ।