Latest News

मन्त्री खान नपाएपछि मेटमणि चौधरीले प्रचण्डमाथि लगाए गम्भीर आरोप

Nepalese Times June 24, 2022 (2 Year ago)    580 Views

काठमाडौं । मन्त्री खान नपाएपछि नेकपा एकीकृत समाजवादी पार्टीका पोलिटब्युरो सदस्य मेटमणि चौधरीले सत्ता साझेदार नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डमाथि गम्भीर आरोप लगाएका छन्।

चौधरीले सत्ता साझेदार नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री शेरबहादुर देउवालाई दबाब दिएर मन्त्री फेर्ने आफूहरुको निर्णय कार्यान्वयन गर्न नदिएको बताएका छन्।

पार्टीका कार्यालय आलोकनगरमा जारी पार्टी पोलिटब्युरो बैठकका क्रममा पत्रकारहरुसँग कुरा गर्दै चौधरीले यस्तो बताएका हुन्।

‘गठबन्धनका नेताहरुको भनाइ र पार्टीको निर्णयलाई प्रधानमन्त्रीले सम्बोधन गर्ने हो। तर हामीले जेठ २२ गते मन्त्री फेर्ने निर्णय गरेको आज २२ दिन भयो’, उनले भने, ‘कि त एकीकृत समाजवादी हामीलाई चाहिँदैन भन्नुपर्यो। नत्र एकीकृत समाजवादीको निर्णयलाई प्रधानमन्त्रीले कार्यान्वयन गर्नुपर्छ।’

उनले यसबारेमा पार्टीको स्थायी कमिटी र पोलिटब्युरो बैठक तथा केन्द्रीय कमिटीमा पनि छलफल हुने बताएका छन्।

‘माधव नेपालले मन्त्री फेर्ने निर्णय कार्यान्वयन हुन्छ भन्नु भएको छ। जे भए पनि पार्टीले एउटा निर्णय र सिफारिस गरेको छ। त्यसलाई कार्यान्वयन गर्ने जिम्मा प्रधानमन्त्रीको हो’, उनले थपे, ‘यो कार्यान्वयन नहुनुमा प्रधानमन्त्री दोषी हो।’

देउवालाई माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले प्रभाव र दबाबमा पारेको उनले बताए। ‘उहाँ (प्रधानमन्त्री) लाई प्रभावमा पार्ने भनेको प्रचण्ड हो’, उनले भने, ‘उहाँको पार्टीभित्र पनि ठूलो प्रेसर छ। त्यहीकारण त्यो प्रेसरलाई धान्न नसक्ने भएपछि प्रचण्डले देउवालाई प्रभाव र दबाबमा पारे।’

चौधरीले देउवा प्रधानमन्त्री बनेको आफुहरुकै कारण भएको बताए। ‘देउवा हाम्रै कारणले प्रधानमन्त्री भएका हुन्। माओवादीका मन्त्री हाम्रै कारणले बने’, उनले भने, ‘यसमा कमजोरी त हाम्रो होइन। निर्णय हामीले गर्ने हो तर प्रधानमन्त्रीले त्यसलाई रेस्पोन्स नगरेको अवस्था छ।

प्रतिक्रिया दिनुहोस