Latest News

एकीकृत समाजवादीमा विद्रोह गरेकी मन्त्री झाँक्री बैठकमा अनुपस्थित, को-को छन् सहभागी ?

Nepalese Times June 24, 2022 (2 Year ago)    521 Views

काठमाडौं । मन्त्री परिवर्तनको विषयमा पार्टीभित्र विवाद चलिरहेको समयमा नेकपा एकीकृत समाजवादीको पोलिटब्युरो बैठक मिनभवनस्थित पार्टी केन्द्रीय कार्यालयमा सुरु भएको छ । बैठकमा अध्यक्ष माधवकुमार नेपालले राजनीतिक प्रतिवेदन प्रस्तुत गर्ने छन् ।

आगामी चुनावको तयारी र संगठन विस्तार मुख्य अजेन्डा रहेको भएपनि मन्त्री परिवर्तनको विषयमा भइरहेको विवादको विषयमा पनि छलफल हुने बताइएको छ ।

साढे ११ बजे पार्टी कार्यालयमा भएको बैठकमा मन्त्रीहरू खतिवडा र प्रेम आले उपस्थित छन् । मन्त्री रामकुमारी झाँक्री भने अनुपस्थित रहेको एक सदस्यले बताए ।

एकीकृत समाजवादीमा ७१ सदस्यीय रहेको छ । बैठकको सुरुमा अध्यक्ष नेपालले अजेन्डा प्रस्तुत गरे पनि मन्त्री परिवर्तनको विषयमा भएको विवादको बारेमा केही पनि बोलेनन् ।

एकीकृत समाजवादीभित्र मन्त्री परिवर्तनसहितको विषयमा भइरहेको विवादको विषयमा छलफल गर्न चार मन्त्रीसहित १० जना सांसदहरूले शुक्रबार संसदीय दलको बैठक बोलाएका छन् ।

एकीकृत समाजवादीले गत जेठ २२ मा चार जना मन्त्रीलाई फिर्ता बोलाउने निर्णय गरेको थियो । स्वास्थ्य तथा जनसंख्या मन्त्री विरोध खतिवडा, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेमबहादुर आले, सहरी विकास मन्त्री रामकुमारी झाँक्री र श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री कृष्णकुमार श्रेष्ठलाई फिर्ता बोलाउने निर्णय भएको थियो ।

मन्त्री फेर्ने निर्णय गरेपछि बसेका सचिवालयलगायत पार्टीका बैठकले पटक–पटक मन्त्री फेर्ने निर्णय कार्यान्वयन गर्ने निर्णय गर्दै आएको छ ।

एकीकृत समाजवादीले स्वास्थ्य मन्त्रीमा अहिलेका स्वास्थ्य राज्यमन्त्री हीरा केसीलाई पठाउने, संस्कृति मन्त्रीमा जीवनराम श्रेष्ठ, सहरी विकास मन्त्रीमा मेटमणि चौधरी, श्रम मन्त्रीमा शेरबहादुर कुँवरलाई पठाउने निर्णय गरेको थियो ।

 

 

प्रतिक्रिया दिनुहोस