काठमाडौं । पदमा रहँदा दुई करोड ४४ लाख रुपैयाँभन्दा बढी अकुत सम्पत्ति आर्जन गरेकाे देखिएपछि धनुषाका तत्कालीन नायब सुब्बा गणपति झाविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आरोप पत्र दायर गरेको छ ।
उनकी पत्नी मीनादेवी, छोराहरू दिवाकरकुमार, शिवाकरकुमार र करुणाकरकुमारसमेतलाई प्रतिवादी कायम गरी अख्तियारले विशेष अदालत काठमाडाैंमा आरोपपत्र दायर गरेको हो ।
उनले आर्थिक वर्ष २०३९/४० देखि ०७७/०७८ सम्म विभिन्न कार्यालयमा रहँदा भ्रष्टाचार गरी सम्पत्ति जोडेको उजुरी परेपछि अख्तियारले अनुसन्धान गरेको थियो । छानबिन गर्दा उनको आय २ करोड ४२ लाख ६७ हजार १ सय ४ रुपैयाँ देखियो भने व्यय चार करोड ८६ लाख ३८ हजार २ सय रुपैयाँ पाइएकाे छ ।
झाको सम्पत्तिमध्ये दुई करोड ४४ लाख ७१ हजार १ सय ५ रुपैयाँको वैधानिक स्रोत नखुलेको अख्तियारले जनाएको छ । गैरकानुनी बाटोबाट आर्जन गरेको उक्त सम्पत्ति जफत गर्नुपर्ने आरोप पत्रमा उल्लेख छ ।
तत्कालीन नायब सुब्बा झा ९ मंसिर २०३९ मा गाविस सचिव पदबाट सार्वजनिक सेवामा प्रवेश गरेका थिए । त्यसपछि विभिन्न कार्यालयमा सरुवा भएका उनी नायब सुब्बा भएर लामो समय काम गरेका थिए ।सरकारी सेवामा वरिष्ठ व्यवस्थापक सहायक नायब सुब्बासरहको पद हो ।
अख्तियारले गत शुक्रबार ४ वर्षमा सवा ६ करोड कमाएकाे भन्दै तत्कालीन नायब सुब्बा भीमकान्त भण्डारीविरुद्ध आरोपपत्र दायर गरेको थियो ।
तर, उनले जग्गा खरीद, ऋणको सावाँब्याज, गाडी, घर, अध्ययन खर्च लगायत गरी चार करोड ८७ लाख ३८ हजार २१० रुपैयाँ खर्च गरेको देखिएको छ। जसमध्ये झाको दुई करोड ४४ लाख ७१ हजार १०५ रुपैयाँको स्रोत नखुलेको अख्तियारले जनाएको छ।
उनले विभिन्न कार्यालयमा कार्यरत रहँदा गैरकानूनी रूपमा अकुत सम्पत्ति आर्जन गरेको अनुसन्धानमा देखिएको अख्तियारले जनाएका छन्। गैरकानूनी रूपमा कमाएको सम्पत्ति पत्नी र छोराहरूको नाममा राखेको अख्तियारको दाबी छ।
अख्तियारले उनकी पत्नी मीनादेवी, छोराहरू दिवाकर, शिवाकर र करुणाकरलाई पनि प्रतिवादी बनाएको छ। झाले गैरकानूनी रूपमा कमाएको सम्पत्ति पत्नी र छोराहरूको नाममा राखेको भन्दै उनीहरूलाई पनि विपक्षी बनाएको हो।
उनी स्थानीय तह निर्वाचनमा जनकपुरधाम उपमहानगरपालिका–२० को वडाध्यक्षमा स्वतन्त्र उम्मेदवार बनेका थिए। उनी २४७ मत पाएर पाँचौं नम्बरमा थिए।